इटहरी : सार्वजनिक शौचालय अभावको आलोचना खेप्दै आएको इटहरी उपमहानगरमा बुधवार देखी नयाँ सार्वजनिक शौचालय सञ्चालनमा आएको छ ।

इटहरीको पूर्व लाइन जुटबिकास चोकमा नयाँ शौचालय निर्माण भएको हो ।

राजनीतिकर्मी तथा व्यावसायिक संस्थाको प्रतिष्ठाको विषय बन्दै आएको शौचालय एकपछि अर्को निर्माण हुने क्रम जारी छ । इटहरी आउने आगन्तुक, यात्रु तथा सर्वसाधारणले सास्ती खेप्नुपरेको भन्दै आलोचना हुने गरेको छ ।

बुधवार उद्घाटन भएको सहित इटहरीमा ४ वटा सार्वजनिक शौचालय भएका छन् । यहीँ बिचमा मुख्य चोक र उपमहानगरपालिकाको गेटमा नयाँ शौचालय निर्माणाधीन अवस्थामा छ ।

शौचालय विहीन सहरको आलोचना खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न लागिएको मेयर हेमकर्ण पौडेलले बताए । इटहरीको मुख्य चोकको शौचालय पनि यसै साता सञ्चालनमा आउने उनको भनाइ छ ।

शौचालय जस्तो आधारभुत आवश्यकताको अभावले हैरानी बेहोर्दै आएका नागरिकले अब समस्या भोग्नु नपर्ने उनले सुनाए  ।