धरान : प्रतिष्ठानलाई छाता ऐनमा गाभ्ने कानुनको मस्यौदाबाट प्रतिष्ठानलाई अलग राख्न धरानमा गठन भएको सर्वदलीय सर्वपक्षीय बिपी प्रतिष्ठान बचाउ सङ्घर्ष समिति प्रधानमन्त्री, स्वास्थ्य मन्त्री र कानुन मन्त्रीलाई ज्ञापन-पत्र बुझाउन काठमाडौँ जाने भएको छ ।

सङ्घर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङबोको सभापतित्वमा आज बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो । सङ्घर्ष समितिको प्रतिनिधि मण्डलको रूपमा पर्सी बुधवार असार ६ गते काठमाडौँ जाने भएको भएको हो ।

४३ सदस्यीय सङ्घर्ष समिति मध्येबाट राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवीहरूको सहभागी हुने प्रतिनिधि मण्डलको सङ्ख्या १५ जना सम्मको हुने बताइएको छ ।

यसअघि समितिले प्रतिष्ठानका निमित्त उपकुलपछि प्राडा सञ्जीव शर्मा मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र प्रेषित गरेको थियो ।

यसैबिच सुनसरी-१ का प्रतिनिधि सभा सदस्य तथा मन्त्री अशोक राईको नेतृत्वमा, प्रदेश सांसद त्रय रमेश बस्नेत, विजय राई र ममता तामाङ मगरले प्रधानमन्त्री पुष्पकमल दाहाल, स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई ज्ञापन पत्र बुझाएका छन् ।

सङ्घर्ष समितिको बैठकमा छाता ऐनमा बिपीलाई गाभ्ने तयारी विरुद्ध आन्दोलन सुरु भएपछि ऐनको मस्यौदा मन्त्रीपरिषद् बैठक सम्म पुग्ने सम्भावना टरेको खबर आएको बारेमा चर्चा भएको थियो ।

मस्यौदा मन्त्री परिषदमा टेबुल भएपछि विधेयकको रूपमा संसद्मा जान्छ । संसद्मा पुगेपछि त्यसलाई ऐन बन्नबाट रोक्न सकिन्न । ऐन लागु भएपछि बिपी प्रतिष्ठान ऐन खारेज भई अहिले स्वरूप समाप्त हुन्छ ।

मस्यौदा पूर्ण रूपमा परिपक्व नभएको तथा अहिले कानुन मन्त्रालयमा पुगेकोले बिपीको अस्तित्व समाप्त गर्ने मस्यौदाको जोखिम बाँकी नै रहेको आशङ्का बैठकमा सहभागीहरूले उठाएका थिए ।

बैठकमा संयोजक मेयाङबोले प्रधानमन्त्रीलाई मन्त्री, सांसदहरूले गराएको ध्यानाकर्षणले बिपी बचाउमा सकारात्मक प्रभाव परेको बताउँदै भने ‘तर, छाता ऐनको मस्यौदाबाट बिपी प्रतिष्ठानलाई बाहिर निकालेर विश्वविद्यालय बनाउने निर्णय नभए सम्म सङ्घर्ष जारी राख्नु पर्छ ।’

बैठकमा अधिकांश सहभागीहरूले संसदीय प्रक्रियाका कामहरू कर्मचारी तन्त्रबाट हुने भएकाले जोखिमका कुरामा ढुक्क भएर बस्न नमिल्ने बताए ।

सङ्घर्ष समितिका कतिपय सदस्यहरूले प्रधानमन्त्री, मन्त्रीहरूलाई ज्ञापन पत्र दिन ठुलै समूह जानु पर्नेमा जोड गरेका थिए । अगुवाहरूले भने प्रतिनिधि मूलक रूपमा प्रमण्डल गएर तार्किक र प्रभावकारी रूपमा विषय बस्तु प्रस्तुत गर्नु उचित हुने कुरामा जोड दिएका थिए ।