आज श्रावण महिनाको तेस्रो सोमबार : आज पनि देशभरिका विभिन्न शिवालय एवम् धरानको पिण्डेश्वर मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ । मलमास भएपनि भक्तजनहरूको उल्लेखनीय उपस्थिति पिण्डेश्वर मन्दिरमा रहेको छ ।

प्राचीन हरिद्वार शिवालयका प्रतीकका रूपमा मानिँदै आएको धरान विजयपुर धार्मिक तीर्थ भूमि रुद्राक्षाराण्य तपोभूमि पिण्डेश्वरमा बिहान १ बजे देखिनै वराहक्षेत्र चतराधाम कौशिकी तटबाट स्नान गरी शुद्ध भएर जल उठाई बोलबमको नारा लगाउँदै बोलबम बोलबम भनेर पहेँला वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर पिण्डेश्वर मन्दिरमा जल अर्पण  गरिरहेका छन् ।

आज खिर खाने दिन 

"असार १५ दही-चिउरा, साउन १५ खीर" याे भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ । आज  साउन १५, घरघरमा खीर र मिष्ठान्न परिकार  खाएर यो पर्व मनाइँदै छ ।

तीज, श्राद्ध, देवाली, व्रतबन्ध, भोजभतेर जस्ता शुभ अवसरमा विशेष परिकारका रूपमा पकाइने गरिएको खीरलाई स्वादिष्ट एवम् स्वास्थ्यवर्धक खानाको रूपमा लिइन्छ । चामल, दूध, नरिवल, छोकडा र अन्य ड्राई फ्रुट्स, चिनी हालेर खीर बनाउने हाम्रो चलन रहेको  छ ।

साउन महिना बर्सातको  समय भएकाले विभिन्न रोगहरूबाट छुटकारा पाउनका लागि  दूधबाट बनेको पोसिलो खिर खाने गरिन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले  याे खाने प्रचलन बसेको बुझ्न सकिन्छ ।

बर्सायाममा विभिन्न सङ्क्रमण रोग लाग्ने गर्दछ, सङ्क्रमणबाट बच्न खिर खाने गरेको पाइन्छ । खीरको पोषण यसमा हालिने चिजले निर्धारण गर्दछ । खीर उच्च क्यालोरी भएको खाना हो । दूध आफैँमा प्रोटिनको राम्रो स्रोत हो र यसमा फ्याटको मात्रा पनि हुन्छ । चामलमा कार्बोहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ । त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्ने खानेकुरा खीर हो ।

यसरी घरमै बनाउनुहोस् खीर :

भिजाएको चामल, मन तातो दूध, घ्यू, चिनी, दूध, दालचिनी, सुकुमेल, ल्वाङ तथा ड्राई फुडको रूपमा नरिवल, बदाम, किसमिस तथा काजु प्रयोग गर्न सकिन्छ।

खीरलाई कराई  प्यानमा अथवा भाँडामा पकाउन सकिन्छ। यसका लागि आगोमा भाँडो बसाई सकेपछि केहीबेर त्यसलाई तताउने र त्यसमा एक चम्चा घ्यू हाल्नुपर्छ तर याद राख्नुहोस् आगो (हिट) मध्यम हुनुपर्छ।

घ्यू ताती सकेपछि त्यसमा भिजाइएको चामल हालेर ३ मिनेटसम्म भुट्नुपर्छ। चामल केही बेर भुटिई सकेपछि भने त्यसमा मनतातो दूध हाल्नुपर्छ। उदाहरणका लागि एक कप भिजाएको चामलको लागि ५ कप दूध आवश्यक पर्छ । आफूले कति खीर पकाउन खोजेको हो त्यसै अनुसार  चामल र दूधको मात्रा बढाउन सकिन्छ। केही बेर भुटेको चामलमा दूध हालिसकेपछि त्यसलाई डढ्न नदिन १५ मिनेटसम्म निरन्तर चलाई रहनुपर्छ। यसो गर्दा खीर पाक्दै जानुका साथै बाक्लो पनि हुँदै जान्छ।

जब खीर बाक्लो हुँदै जान्छ र सुक्नलाई थोरै दूध मात्र बाँकी रहन्छ तब त्यसमा अघि तयार पारिएर राखिएको ड्राई फुड र चिनी हालेर ३ देखि ५ मिनेटसम्म चलाउनुपर्छ। ड्राई फुडलाई टुक्रा बनाएर वा कोरेर धुलो बनाएर  हाल्न सकिन्छ ।

यसरी स्वादिष्ट खीर तयार  हुन्छ र खान योग्य बन्छ ।