धरान : ‘किरात कालिन विजयपुरको इतिहास’मा उल्लेख भए अनुसार विजयपुरमा विक्रम संवत् १४२१ साल देखी ७ पुस्ता साउदेन याक्थुङ लिम्बुका पुर्खा राजाहरूले शासन गरेका थिए । उनै साउदेन याक्थुङ लिम्बु थरको उत्पत्ति, इतिहास विस्तृत रूपमा समेटिएको वंशावली ग्रन्थको दोस्रो संस्करण प्रकाशित भएको छ ।

हालै बिर्तामोडमा साउदेन भेला बिच विमोचन भएको ‘थाक्थाकु माबोहाङ साउदेश वंशावली’ पुस्तक कुल ४८२ पृष्ठको छ । पुस्तकको ९४ पृष्ठमा रंगीन तस्बिरहरू वंशका अगुवाहरूको संक्षिप्त जीवनी समेटिएका छन् । वंशावली साउदेन वंश कल्याण समाज केन्द्रीय समितिले प्रकाशित गरेको हो ।

वंशावलीमा इतिहासकार इमानसिंह चेम्जोङले लेखेको इतिहास अनुसार विजयपुरको साउदेन वंशका पहिलो राजा साङलाइङ र अन्तिम राजा विजय नारायण भएको उल्लेख छ । सात पुस्ता शासन गर्ने राजाहरू साङलाइङ, पुङलाइङ (अमर नारायण), कृति नारायण, अप नारायण, जारे नारायण, इङदिन नारायण र विजय नारायण भएको इतिहासमा उल्लेख छ ।

साउदेन वंशका प्रथम राज साइङलाइङले विजयपुर सहित मोरङको राजधानी हालको सेउती खोली पूर्व बारातप्पामा स्थापना गरेका थिए । पछिल्लो पुस्ताले राजधानी विजयपुर सार्नुका सार्थ हिन्दु धर्म अपनाएर नामको पछि नारायण लेख्न थालेको इतिहासकार इमानसिंह चेम्जोङले उल्लेख गरेका छन् ।

साउदेश वंशमा दुई उपथर छन् । यी दुई थर साउदेन दाजु भाइको नामबाट उत्पत्ति भएको ऐतिहासिक तथ्यको रूपमा स्थापित छ । जेठा साङलाइङ र कान्छा पुङलाइङको वंश विस्तार भएपछि कालान्तरमा साउदेन थरको २ उपथर बनेको पुस्तकमा उल्लेख छ ।

साउदेन वंशको पुर्ख्यौली उत्पतिस्थल माङगेन्न यक ताप्लेजुङ जिल्लाको तमरखोला तत्कालीन साउदेन गाविस हो । पुस्तकमा लिम्बुवानका नेता कुमार लिङदेन मिराकले शुभकामनामा लेखेका छन् ‘साउदेश वंशकै नाममा गाविसको नाम ‘साउदेन’ रहेको थियो । राज्यको पूनःसंरचना गर्दा पहिचान विरोधीहरूले साउदेन गाविस विलय गराए ।

गाविसको नाम साउदेन नै रहेको भए विश्वको जुनसुकै ठाउँबाट ‘गुगल सर्च’ गर्दा साउदेन भन्ने बित्तिकै उक्त ठाउँ देखिन्थ्यो । हजारौँ पुस्ता सम्म साउदेन भूमिको अस्तित्व रहन्थ्यो । साउदेन गाविस विलय गराएर यसलाई नामेट पार्ने दुष्प्रयास भएको लिङदेनको भनाई छ ।

पुस्तकमा साउदेन थर अप्रभंश भई विभिन्न उच्चारण भएको उल्लेख सहित ती सबै यथार्थमा ‘साउदेन’ नै भएको स्मरण गराइएको छ । विभिन्न ठाउँमा बसाई सर्दै जाँदा नयाँ ठाउँमा बोलिने लवज अनुसार साउदेम्बा, साउदेन्हा हुँदै साउदेन, सावादेन, सावदेन, सकवादेन, साऔदेन, सौदेन र सक्वादेन उच्चारण भएको उल्लेख छ ।

साउदे वंशावलीको पहिलो संस्करण २०६० सालमा प्रकाशित भएको थियो । लेखक तथा शोधकर्ता श्री प्रसाद सौदेनले तयार गरेको ‘किरात जातिको संक्षिप्त परिचय र सौदेन वंशावली’ पुस्तक धनबहादुर, हर्कबहादुर, नरेन्द्रकुमार, बलबहादुर, थानबहादुर र श्रीमती उमा सौदेनले संयुक्त रूपमा प्रकाशित गरेका थिए ।

२० वर्ष पछि प्रकाशित दोस्रो संस्करणको वंशावलीमा वंश वृक्षको विस्तार थपिएका छन् । साथै नयाँ ऐतिहासिक तथ्य स्थापित गरिएको छ । पुस्तकमा भनिएको छ ‘साउदेनका पुर्खा साङलाइङहरु आसामको कामरुपबाट नभई ल्हासाबाट नै आएका हुन् र थाकथुक माबोहाङका सन्तान हौँ । साक्वादेनको अप्रभंश नै कालान्तरमा साउदेन भएको हो ।’

kirat bansawali book