धरान : आप्रवासी महिला कामदार समूह नेपालले कोसी प्रदेश सहित स्थानीय सरकारहरूलाई 'घरेलु श्रम, मर्यादित श्रम' नाराका साथ आप्रवासी महिला कामदारको हितका लागि आइएलओ १८९ तिनै तहको सरकारबाट अनुमोदनको लागि सिफारिस गराउन सहमति गराएको छ ।

समूहद्वारा मङ्गलवार धरान-४ काम्फेक भेडेटारमा सम्पन्न प्रादेशिक सम्मेलनले राष्ट्रिय सम्मेलनमा सिफारिस कार्यान्वयनका लागि सहमति गरेको हो । सम्मेलनमा कोसी प्रदेशका स्थानीय सरकारका प्रतिनिधि, आप्रवासी महिला कामदार प्रतिनिधि विभिन्न निकायका सरोकारवालाहरू सहभागी थिए ।

उनीहरू बिच भएको छलफलपछि प्रदेशका घरेलु कामदारका लागि आईएलओ १८९ पारित गर्न पहल गर्ने सहमति भएको हो । सम्मेलनमा प्रमुख अतिथि कोसी प्रदेश सांसद सपना परियारले महिला बालबालिकाको हक र अधिकार रक्षाका लागि प्रदेशसभाबाट गर्नुपर्ने कामको लागि तयार रहेको प्रतिबद्धता जनाइन् ।

समूहलाई काम गर्न असहज परिस्थिति भएका राज्यका तीन वटै तहलाई घच्घचाउदै ध्यानाकर्षण गराउनु पर्ने कुरामा जोड दिदैं उनले भनिन् ‘आप्रवासी महिला कामदारको  सवालमा प्रदेश सभामा म कुरा उठाउँछु ।’

सुनसरी, झापा, मोरङ संवेदनशील जिल्ला भएकाले वैदेशिक रोजगारमा जान चाहने र गएर आएका महिलाहरूलाई सहजीकरण गर्दे चेतना, उत्प्रेरणा र हौसला प्रदान गर्न सांसद परियारले आग्रह गरिन् ।

धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले धरानका महिलाहरू वैदेशिक रोजगारीमा जान चाहेको बेला इलाका प्रशासन कार्यालयमा परामर्शदाता राखेर सहजीकरण गरिँदै आएको बताए । उनले भने ‘राहदानी बनाउँदा नै परामर्श लिनु होला, अरू देशको बाटो प्रयोग नगर्नु होला ।’

दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले वैदेशिक रोजगारमा जाँदा सरकारले अङ्कुश लगाउनु उचित नभएको बताए । उनले भने ‘महिलाहरू भुटानी शरणार्थीसँग विवाह गरेर विदेश जाने गरेका कारणले समस्या उत्पन्न भएको छ ।’

झापामा भद्रपुर, मेचीनगर, दमक र गौरीगञ्जमा आप्रवासी महिला कामदारको विषयमा धेरै कार्यक्रम सञ्चालन हुने गरेकाले धेरै महिला सचेत भई विदेश जाने गरेकाले समस्या नरहेको थापाको भनाई थियो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता रोशनप्रसाद ढकालले अहिले वैदेशिक रोजगारीमा जानेले परामर्श लिएर मात्रै जाने गरेकाले भारतको बाटो प्रयोग गर्ने घटेको बताए । सुन्दरहरैंचामा सूचना प्रभावकारी रूपमा प्रयोग नहुँदा महिलाहरूलाई समस्या आएको बताए ।

प्रहरी चौकी पानबारीकी इन्चार्ज यज्ञ सुवेदीले खुला सीमा नाकाका कारण नक्कली श्रीमान् श्रीमती बनेर सामान ओसारपसार गर्ने बहानामा भारतको बाटो अवैध रूपमा विदेश जाने गरेको बताइन् ।

समूहकी कार्यकारी निर्देशक विजयाकुमारी राईले समूहले काठमान्डुमा सेल्टर स्थापना गरेको विमानस्थलमा अलपत्र परेका महिलालाई पुनर्स्थापना गर्ने गरेको बताए । बिचल्लीमा परेका महिलालाई नेपाल फर्कन प्लेन टिकट काटिदिने समेत गरेको बताइन् ।

छलफलको सहजीकरण सामना नेपालकी अध्यक्ष चेतना श्रेङले गरेको थिइन् । अध्यक्षता समूहकी पुष्पा थापा गरेको थिइन । अधिवक्ता सदीक्षा महर्जनले कानुनी जटिलताको बारेमा सहजीकरण गरिन् ।