धरान : सर्वोच्च अदालतको २०८० वैशाख ५ गतेको फैसलाले ज्यान मार्ने उद्योगमा दोषी ठहराई ५ वर्ष कैद तोकिएका फरार अभियुक्त दुहबी–१२ पूर्व कुशाहाका सत्यनारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

अदालती फैसला कार्यान्वयन गर्न सुनसरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले यादवलाई आइतबार पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको हो ।

यसै गरी तेह्रथुम जिल्ला अदालतले २०७८ भदौ १५ गते गरेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा फरार प्रतिवादी तेह्रथुमको फेदाप गाउँपालिका-२ का ४८ वर्षीय सुबासचन्द्र लिम्बुलाई आइतबारै प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ४ दिन कैद र २००० रुपैयाँ जरिवाना तोकेको फरार अभियुक्त गौरादह-५ बस्ने २२ वर्षीय दिनेश अधिकारीलाई इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका तिनै जनालाई सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएकोमा तोकिएको सजाय भुक्तानको लागी जिल्ला कारागार पठाइएको प्रहरीले जनाएको छ ।