धरान : स्कारपियो जिप गाडीमा ब्राउनसुगर लिएर आएका २ जना भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी टोलीले मङ्गलवार राती त्रियुगा-१० गैरुन कालिखोलाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार सुपौलका २७ वर्षीय जसबिन कुमार मण्डल र वीरपुर थाना-१२ का २७ वर्षीय सन्तोष कुमार महतो रहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरूबाट २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार रुपया बरामद गरिएको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालीखोलाको नजिकै रोकेर राखेको बिआर ११ पि बि १३५५ नम्बरको स्कारपियो गाडी चेकजाँच गर्दा गाडीको गियर बक्स भित्र कालो प्लास्टिकको झोलामा ब्राउनसुगर लुकाएर राखिएको पाइएको हो ।

दुवै भारतीयलाई स्कारपियो सहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।