धरान : डम्बरमाया जिमी ५४ वर्षको उमेरमा २ छोरीका साथ कष्टकर एकल जीवन बिताइरहेकी छिन् । श्रीमान् सँगको सम्बन्ध विच्छेद वा श्रीमानको मृत्युका कारणले उनी एकल भएकी भने होइनन् ।

२० वर्ष अघि २०६० सालमा डम्बरमायालाई मागी विवाह गरेका श्रीमान् अहिले राजनीति गर्छन् । गएको चुनावमा उनी सुनसरी-१ बाट सङ्घीय प्रतिनिधि सभाको उम्मेदवार समेत थिए । राम्रै भोट पनि ल्याए । अहिले उनले कान्छी श्रीमती बिहे गरेर बसेको डम्बरमायाले बताइन् ।

विद्यार्थी जीवन देखी राजनीतिमा लागेका श्रीमानले जीवनको उत्तरार्धमा आफूलाई 'कुकुरले नपाएको दुःख' दिन्छन् भनेर उनले कल्पना गरेकी थिइनन् । भन्छिन् ‘शिक्षक, उद्यमी भएर राजनीतिमा लागेका मान्छे विद्वान नै होला, कुनै दिन महान् नेता नै बन्ला भनेर सोचेको थिएँ ।’

जीवन बित्दै गयो । दुई छोरी भएपछि श्रीमानको व्यवहारमा परिवर्तन हुँदै गयो । स-साना कुरामा निहुँ खोजेर कुटपिट समेत गर्न थाले । उनको कुरा सुनेर सासू नन्दको व्यवहार पनि मानसिक, शारीरिक यातना दिने व्यवहारमा परिवर्तित भयो ।

मानसिक रूपमा विक्षिप्त :

डम्बरमाया भन्छिन् ‘म मानसिक रूपमा विक्षिप्त हुने अवस्थामा पुगेँ, के गर्ने कसो गर्ने भन्ने सोच्नै नसक्ने अवस्था भयो ।’ २०६९ साल अर्थात् आज भन्दा ११ वर्ष अघिको आफ्नो स्थिति सम्झँदै उनले भनिन् । भनिन् ‘मलाई घर देखी निकाल्ने उनीहरूले सोचिसकेका रहेछन्, एक दिन श्रीमानले नै जबरजस्ती घरबाट लखेटेर निकाल्यो ।’त्यस बेला देखी छुट्टै बस्दै आएकी डम्बरमायाले भनिन् ‘मलाई त कुटेरै निकाल्यो छोरीहरूको माया समेत नलाग्ने कस्तो निर्दयी ? पशुले पनि आफ्नो सन्तानको माया गर्छ, पालनपोषण गर्छ, हुर्काउँछ ।’ 

दुई नाबालक छोरी सहित उनलाई घर देखी निकाल्दा पनि उनले कतै उजुरी बाजुर किन गरिनन् ? सबैले सोध्न सक्ने बताउँदै उनले भनिन ‘आफ्नो घर भाँडिएला भन्ने डर भयो साथै बाउ माइतीको इज्जत, प्रतिष्ठा पनि सडक बजारमा हल्लाको विषय हुने डरले केही गरिन ।’

कोशीमा धकेल्ने षडयन्त्र :

आफू मानसिक विक्षिप्त अवस्थामा रहेको बेला उनलाई पारिवारिक पिकनिक भन्दै कोसी ब्यारेजमा लगेर धकेल्ने षडयन्त्र पनि श्रीमानले गरेको आरोप डम्बरमायाले लगाइन् ।

उनले भनिन् ‘श्रीमानले आफूलाई मार्नका लागि भीमनगरको पुलमा पिकनिक लैजान खोजेका रहेछन् ।’ आफूलाई मार्ने ‘प्लान’ छिमेकीले थाहा पाएपछि आफूलाई 'काखी मुनी प्याज राख्नु, सिरकले छोपिएपछि ज्वरो आउँछ, अनि लग्दैनन्' भन्ने उपाय सिकाएर बचाएको उनको भनाई छ ।

उनले भनिन् ‘ज्वरो हनहन आएपछि श्रीमानले जबरजस्ती लैजान ४ पटक दवाई खुवाए ।’ तर पनि ज्वरो कम नभएपछि भीमनगर जाने कुरा ‘क्यान्सिल’ भएर आफू बाँच्न सफल भएकी बताउँदै भनिन् ‘मार्न नपाएपछि घरबाट निकालेर खेदाएपछि कान्छी श्रीमती ल्याएर श्रीमान् बसिरहेका छन् ।’

कष्टकर एकल जीवन :

श्रीमाननै लागेर घर देखी निकाली दिएपछि डम्बरमायाको दशक लामो कष्टकर जीवन सुरु भयो । उनी अहिले छोरीहरूका साथमा धरान-१५ ध्रुव ज्योति पथमा भाडाको कोठामा बस्दै आएकी छन् ।

२० वर्ष र १८ वर्षका दुई छोरीहरूको साथमा भाडामा बसेकी जिमीलाई श्रीमानले छोरा नभएको र दाइजो नल्याएको कारण घरबाट निकालेको उनको भनाई छ ।

श्रीमानको धरान-१५ स्थित सयपत्री मार्गमा अढाई तले घर छ । पारिवारिक आयस्रोत राम्रो छ । जग्गा जमिन थुप्रौँ छ । तर छोरीहरूको पालन पोषण, शिक्षा दीक्षामा श्रीमानले वास्ता नगरेको उनले बताइन् ।

सम्पन्न परिवार भए पनि परिवारमा तनाव, श्रीमाननै सन्तानप्रति दायीत्वच्युत भएकोले पौष्टिक आहारको कमीले गर्दा जेठी छोरी शारीरिक रूपमा अशक्त भइन् । डम्बरमायाले भनिन् ‘छोरीलाई पारिवारिक तनाव धेरै भएका कारण दिमागमा समेत असर परेकोले होला अलिक सुस्त छिन् ।’

आर्थिक अभावका कारण छोरीलाई औषधी उपचार समेत गर्न नसकेको उनले बताई । भनिन् ‘तर अव उपचार गर्छु । श्रीमानले सम्पत्ति भएर पनि केही दिएका छैनन् । घरबाट केही नलिई आएको हुँ । छोराछोरी पढाउन र बढाउनका लागि अनेक सङ्घर्ष गरेर छिमेकी र आफन्तको सहयोगले बाँचेको छु ।’

डम्बरमायामा आएको परिवर्तन :

उमेरले डाँडा काटीसकेकी जिमी ५१ वर्षको उमेरमा डिप्लोमा हेन्डीक्राफ्टको सिलाई कटाई प्रशिक्षक भएकी छिन् । उनी हाल हेन्डीक्राफ्टको करार प्रशिक्षक हुन । सिलाई कटाइमा बेसिक र एडभान्स तालिम लिएकी छिन् ।

अहिले मासिक १५ देखी २० हजार कमाउँदै आइरहेकी छिन् । उनले भनिन् ‘पहिला जसोतसो गुजारा चलाइरहेको थियो अव आफू पनि मानसिक र आर्थिक रूपमा सबल भएको छु ।’ बाँच्नका लागि सङ्घर्ष गर्नु पर्दो रहेछ, थोरबहुत कमाइले छोरीहरूका लागि केही गर्ने उनले बताइन् । केही गर्छु सिक्छु भन्दै तालिम लिन गएकी जिमी सरकारी कोटा र सिटीइभिटीबाट दिने तालिममा उमेरको हदका कारण सहभागी हुन नपाउँदा निराश भएकी थिइन । तर उनलाई डिप्लोमा हेन्डीक्राफ्टका सञ्चालक डम्बरकुमारी श्रेष्ठले आफ्नै खर्चबाट तालिम दिइन् ।

डम्बरमाया जिमीले भनिन् ‘उहाँले मलाई पुनर्जन्म दिनु भयो ।’ श्रेष्ठको साथ पाएपछि जीवन जिउने र सङ्घर्ष गर्न सक्ने भएको उनले बताइन् । निःशुल्क तालिम लिएर आत्मनिर्भर भएको छु ,अव जीवनमा केही गरेर देखाउँछु । सबै दिदी बहिनीलाई सिप सिकौँ र दक्ष भई आत्मनिर्भर बन्न उत्प्रेरण जगाउँछु ।

'यस्तै नेताहरूका कारण राजनीति बदनाम भएको हो'

डम्बरमाया भन्छिन् ‘घरमा श्रीमती कुट्ने, छोरा छोरीलाई पनि त्यस्तै बनाउने, स्वास्नी बटुल्नेहरू नेता भएपछि पार्टीहरूलाई जनताले मन नपराएका हुन ।’

आफ्नो श्रीमानको चर्चा गर्दै उनले भनिन ‘उहाँको सोच बिचार भने जिरो छ, कसरी समाज परिवर्तन गर्छु भन्दै चुनावमा भोट माग्नु भयो आश्चर्य लाग्छ ?’ उनले प्रश्न गरिन् सरकारी टिचर, राजनीतिज्ञ, उद्यमी र संविधान नै परिवर्तन गर्छौ भन्ने पार्टीका उम्मेदवार त्यस्तो भएपछि राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा नजागेर उत्साह जाग्छ त ?

समाजमा कसरी मुख देखाएर हिँड्न सक्छन् नेताहरू आफ्नो असली अनुहार लुकाएर भन्ने कुरा आफ्नो श्रीमान् उदाहरण भएको डम्बरमायाको भनाई छ । भनिन् ‘लाज सरम पचेकाहरू नै नेता हुन्छन् छ ?’

उनको भनाई छ, कम्तीमा छोरीहरूलाई त खान लाउन दिनुपर्छ त्यत्रो सम्पत्ति हुँदा पनि कहिले १ रुपैयाँ दिएनन्, १ रुपैयाँ त दिन नसक्नेले कसरी समाज परिवर्तन गर्न सक्छ ?