धरान : धरान वडा १५ की दलित वडा सदस्य रचना नेपालीकी बुहारी अस्मिता विश्वकर्माले सासू रचना सहित ससुरा खगेन्द्र नेपाली, श्रीमान् पप्पु सिंहले कुटपिट गरी नाबालक छोरा सहित घरबाट निकाला गरेको आरोप लगाएकी छन् ।

वडा १५ कार्यालय परिसरमै आज शुक्रवार पत्रकार सम्मेलन गर्दै अस्मिताले आफूलाई सासू, ससुरा, श्रीमान् पप्पु र नन्द बेविना सहितले घरबाट निकालेको बताएकी हुन ।

उनले ससुरा खगेन्द्रले यौन हिंसाको दृष्टिले हेर्ने गरेको, श्रीमान् पप्पुले उनको नाममा 'पोपो लाइभ'मा एकाउन्ट खोलेर आफै अश्लील भिडियो अपलोड गर्दै आएकोमा त्यो कार्य आफूले गरेको भन्दै त्यही निहुँमा घरबाट निकालेको बताइन् ।

पप्पुले नै 'पोपो लाइभ' चलाउँछन् :

अस्मिताले 'पोपो लाइभ’ टिकटक जस्तै सामाजिक सञ्जालमा जर्वरजस्ती श्रीमान् पप्पुले आफ्नो नाममा एकाउन्ट खोलेर आफै चलाउँदै छन् । उनले भनिन ‘श्रीमानले एक्स्ट्रा आम्दानी हुने भएकाले चलाउनु पर्छ भनेका हुन।’

अस्मिताका अनुसार श्रीमान् आफैले बेलुका दोकानबाट आएपछि मेरो नाम खोलेको एकाउन्ट चलाउँदै अश्लील भिडियो पठाउने गरेका छन् । उनले भनिन् ‘पोपो लाइभमा अश्लील भिडियो मात्र आउने थाहा पाएपछि चलाउँदिन भन्दा भन्दै आफै चलाएर आफ्नो नराम्रो कुरा समाजमा फिँजाए ।’ अस्मिताले थपिनन् ‘नत्र पोपो लाइभको हिस्ट्री हेरे हुन्छ ।’

नातिको भत्तामा सासूको कब्जा

सासू रचना नेपाली धरान वडा-१५ की दलित वडा सदस्य भएकाकै कारण उनको नातिको दलित भत्ता निकालेर खाने गरेको अस्मिताले बताइन । उनले भनिन ‘बच्चाको भत्ता समेत पहुँचकै भरमा सासूले छोरा पप्पुको नामबाट निस्कने व्यवस्था बनाएका रहेछन् ।’

अस्मिताले बच्चाको भत्ता लिन हिजो बिहीबार वडा कार्यालय जाँदा मात्र थाहा भएको बताउँदै श्रीमान् पप्पुले बच्चाको भत्ता समेत २ पटक गरेर ९ हजार ५ सय निकालेको थाहा भएको बताइन ।

दलित बालबालिकाको मृत्युदर बढेसँगै कुपोषित बालबालिकाको सङ्ख्या धेरै बढेपछि ५ वर्ष सम्मका बालबालिकालाई सरकारले स्थानीय तहमै मासिक ६ सय भत्ता दिने व्यवस्था गरेको छ ।

अस्मिताले हिजो बिहीबार धरान १५ वडा कार्यालयमा उचित न्यायका लागि आवश्यक पहल गर्न वडाध्यक्ष नरेश ईवरामलाई निवेदन दिइन । वडाध्यक्ष ईवरामले आज शुक्रवार सासू ससुरालाई बोलाएर उनीहरूको मात्र कुरा सुनेको आफूलाई भने एक शब्द समेत बोल्न नदिएको अस्मिताले बताइन ।

जालसाजी गरेर अंश लिएको बनाए, मलाई कुनै पनि अंश दिएको छैन    

अस्मिताले भनिन ‘नपढी हस्ताक्षर गर्दिन भन्दा हामीमाथि विश्वास छैन तिमीलाई भन्दै जबरजस्ती हप्काउँदै थर्काउँदै हस्ताक्षर गर्न लगाउने गर्दथे ।’ उनका अनुसार ससुरा मिटर ब्याजी भएकोले सधैँ विभिन्न कागजातमा किर्ते हस्ताक्षर गर्न लगाउने गर्दथे ।

त्यसै क्रममा एक दिन घर अगाडी पिच बाटो बन्दै गरेका बेला ससुरा नेपालीले श्रीमान् र आफूलाई नेपाली कागजमा जबरजस्ती हस्ताक्षर गर्न लगाएका थिए । उनले मिटर ब्याजमा पैसा लगाउँदा जग्गा धितोमा लिएको हो भन्दै एक दिन ससुराले मालपोतमा लगेर सबै कागज छोपेर हस्ताक्षर गर्न लगाएका थिए ।

अस्मिताले ‘नपढी हस्ताक्षर गर्दिन’ भन्दा ससुरा नेपालीले ‘म माथि विश्वास छैन ?’ भन्दै जबरजस्ती हस्ताक्षर गर्न लगाएका थिए । उनले भनिन् ‘तर श्रीमान् र ससुराले योजनाबद्ध रूपमा कागजातमा हस्ताक्षर गर्न लगाएका रहेछन् पछि अदालतबाट पत्र आएपछि मात्र आफूलाई थाहा भयो ।’

उनले भनिन ‘आफूलाई त ससुराले अंश लिएको भन्ने कागजमा हस्ताक्षर गर्न लगाएका रहेछन् ।’ मलाई झुक्याएर अंश लिएको भन्ने कागजात ससुरा र श्रीमानले गराएका हुन । उनले भनिन ‘मलाई कुनै पनि अंश दिएको छैन, परिवारले जबरजस्ती घरबाट निकालेका हुन ।’

सासू ससुराकै योजनामा छोरा पप्पुलाई उचालेर सम्बन्ध विच्छेदको मुद्दा समेत सुनसरी जिल्ला अदालतमा दायर गरेको अस्मिताले बताइन् ।

ससुराबाट यौन दुर्व्यवहार

अस्मिताले ससुरा खगेन्द्र नेपालीले आफूलाई घरमा केही नभएको मौका छोपी यौन हिंसा गर्ने गरेको आरोप समेत लगाइन् । उनले भनिन् ‘ससुराले आफू बाथरुममा नुहाएको बेला चियाउने, हात सुमसुम्याउने, सुतेको बेला झ्यालबाट चियाएर हेर्ने गर्दथे ।’

ससुराले किचनमा भएको बेला किचनमै आएर हात समाउँदै जबरजस्ती गर्न खोज्ने गरेको उनले आरोप लगाइन् । अस्मिताले भनिन् ‘दुर्व्यवहारको विरोध गर्दा ससुराले बालख छोरा र आफूलाई समेत भर्‍याङबाट धकेली दिएका थिए ।’

विवाह दर्ता नगरी बच्चाको जन्म दर्ता 

अस्मिताका अनुसार अर्कै केटीसँग लसपस भएको बेला २०७७ साल माघ १० गते १७ वर्षको उमेरमा सासू रचनाले जबरजस्ती छोरा पप्पु सिंह नेपाली सँग बिहे गर्न लगाएकी हुन । बिहे गरेको १ वर्षपछि अस्मिताको छोरा भयो ।

तर छोरा जन्मँदा समेत नानीको जन्म दर्ता गराइदिन नमाने पछि महिलाहरूको दबाबमा सासू ससुराकै योजनामा विवाह दर्ता नगरी २०७९ असार २३ गते १५ वडा कार्यालयमा नानीको मात्र जन्म दर्ता गराई दिएका थिए । हाल सम्म अस्मिता र पप्पुको विवाह दर्ता समेत भएको छैन । विवाह दर्ता नै नगरी धरान उपमहानगरपालिका वडा-१५ वडा कार्यालयले जन्म दर्ता गरिदिएको हो ।

अस्मिताले अंश लिई सकेकी ससुराको भनाई

बुहारीले अंश नलिई लिएको कागजमा हस्ताक्षर गराएको बारेमा ससुरा खगेन्द्र नेपालीले भने ‘बुहारीले मालपोत कार्यालयमा गएर उनको भागको अंश लिई सकेर छुटिएर गएतापनि बारम्बार दुःख दिने गरेकी छिन।’

उनका अनुसार बुहारीले आफूले पाउने अंश लिएर गएकी हुन भन्ने कुरा मालपोतको ढड्डामा हेरे हुन्छ । नेपालीले बुहारी ७ महिना देखि कता बस्छिन् थाहा नभएको बताए । उनले भने ‘हामीलाई नाति हेर्न समेत रोकटोक गर्छिन् । उनी विभिन्न केटाहरूसँग पोपो लाइभ भन्ने एपमा अश्लील कुरा गर्दै शरीर देखाएपछि छोरा पप्पुले घरबाट निकालेका हुन ।’