इटहरी : नेकपा एमाले इटहरी उपमहानगर कमिटीको नवौँ अधिवेशनबाट रुपेश बस्नेतको नेतृत्वमा नयाँ कमिटी चयन भएको छ ।

लामो समयको रस्साकस्सी पछि भएको निर्वाचनले बस्नेतको नेतृत्वमा कमिटी चयन गरेको हो । यसअघि ९ गते हुने भनिएको निर्वाचन उम्मेदवार हेरफेर गर्ने विषयमा सहमति भएपछि १५ गतेलाई सरेको थियो ।

१५ गते शनिवार भएको निर्वाचनबाट दुई जना प्रतिस्पर्धीलाई हराउँदै बस्नेत निर्वाचित भएका हुन् । सुजन लामा र उमेश पौडेलले अध्यक्षमा उम्मेदवारी दिए पनि बस्नेतले भारी मतान्तरले विजयी हासिल गरे । बस्नेतले १९७ मत ल्याउँदा लामाले ७९ र पौडेलले ६२ मत पाए ।

उता उपाध्यक्षमा जितेन्द्र थापाले २०१ मत पाएर विजयी भए भने प्रतिस्पर्धी मन्दीरा भट्टराईले १३१ मत मात्र प्राप्त गरिन् । सचिवमा त्रिपक्षीय प्रतिस्पर्धाबाट मदन बहादुर कार्की निर्वाचित भए । कार्कीले १७३ मत ल्याउँदा राजेन्द्र केशरी घिमिरेले १२१ र गोपाल गिरीले ४० मत पाए ।

खुल्ला उपसचिवमा तेजनारायण चौधरी र महिला उपसचिवमा रञ्जु सिग्देल विजयी भएका छन् । अधिवेशनबाट लेखा समिति सहित विभिन्न क्षेत्र र भूगोलबाट सदस्यहरू निर्वाचित भएका हुन् ।

नवौँ नगर अधिवेशनलाई पुस्तान्तरणको सुरुवातको रूपमा एमालेले लिएको छ । एमालेले गुमाएको इटहरी उपमहानगरपालिकाको नेतृत्व फर्काउने गरी नयाँ कमिटीले काम गर्ने नवनिर्वाचित अध्यक्ष बस्नेतले बताए ।