धरान : नेपाली काँग्रेस सुनसरीका संस्थापक नेता गिरिराज आचार्यद्वारा लिखित/सङ्कलित पुस्तक 'जनमत सङ्ग्रह दर्पण'को विमोचन गर्न लेखक आचार्यले ४० वर्ष पर्खनु पर्‍यो ।

दोस्रो संस्करण प्रकाशित भएपछि आज बुधवार वीपी कोइरालाका छोरा काँग्रेस केन्द्रीय सदस्य डा. शशाङ्क कोइरालाले एक समारोह बिच विमोचन गरेका हुन ।

पुस्तकको पहिलो संस्करण २०४२ सालमा प्रकाशित भएको थियो । त्यस बेला काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला निकट नेताले भव्य समारोह बिच काठमाडौँ विमोचन गराउने वचन दिएका थिए । त्यो पुरा नहुँदा विमोचनै हुन सकेको थिएन ।

संयोग काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्ती मनाउँदै काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिद्वारा पुस्तकको हालै प्रकाशित दोस्रो संस्करण विमोचन गरिएको हो ।

६८४ पृष्ठ १८ भागमा प्रकाशित पुस्तक हरि गौतमको ओरिएन्टल प्रकाशनले प्रकाशित गरेको हो । पुस्तकको मूल्य १ हजार ६४५ रुपैयाँ छ ।

नेपालमा राजा वीरेन्द्रद्वारा २०३६ सालमा ‘निर्दलीय व्यवस्था र बहुदलीय व्यवस्था’ बिच जनमत सङ्ग्रह गराइएको थियो । मतपत्रमा कुनै चिन्ह/अक्षर थिएन, मतपत्रमा २ रङ्ग थियो । निर्दल पक्षले पहेँलो र बहुदल पक्षले निलो तर्फ स्वस्तिकको छाप लगाएर मतदान गरिएको थियो । जनमत सङ्ग्रहमा निर्दलको विजय भएको थियो ।

राजा महेन्द्रले २०१७ सालमा प्रधानमन्त्री वीपी कोइरालाको लोकतान्त्रिक सरकार अपदस्थ गरी लागु गरेको पञ्चायत व्यवस्थाको १९ वर्षपछि राजा वीरेन्द्रले जनमत सङ्ग्रह गराएका थिए ।

विमोचन अवसरमा काँग्रेस नेता महेश आचार्यले जनमत सङ्ग्रहमा पहिलो पटक जनताले व्यालेट मार्फत पञ्चायती व्यवस्थालाई अस्वीकार गर्न पाएको बताउँदै भने ‘वीपी कोइरालाले त्यसै कारण राजाको सबै सर्तहरू स्वीकार गरेका थिए ।’

निर्दलको २४ लाख र बहुदलको २० लाख मतले मुलुकमा लोकतन्त्र चाहनेहरू छन् भन्ने साबित गरेको बताउँदै त्यहीँबाट मुलुकमा परिवर्तनका आन्दोलनको पृष्ठभूमि तयार भएको उनको भनाई थियो । राजनीतिक विश्लेषक शङ्कर तिवारीले पुस्तक नेपालको राजनीतिक इतिहास लेखनका लागि महत्त्वपूर्ण सन्दर्भ ग्रन्थ भएको बताए ।

पुस्तकमा जनमत सङ्ग्रहको क्रममा घटेका सबै घट्नाहरु सञ्चार माध्यमको आधारमा उल्लेख छन् । जनमत सङ्ग्रहको बहिष्कार गर्ने पार्टी, बहुदल निर्दल पक्षधरको वक्तव्य, नेताहरूका भनाई अन्तरवार्ताहरू सङ्गृहीत छन् । पर्चा, पप्लेट, पोष्टर देखी प्रचार समितिहरूका नामावली, जनमत सङ्ग्रहमा प्रचारमा खटेका बहुदल, निर्दल पक्षका कार्यकर्ताहरूका नामहार, सभा, जुलुस कार्यक्रमहरूको विवरण लगायत सबै संग्रहीत छन् ।

पुस्तक बारे प्राडा.गोविन्द तुम्बाहाङ, राजीव कोइराला, लक्ष्मी खतिवडा, केदार भण्डारी लगायतले बोलेका थिए । विमोचन समारोह क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको थियो ।

Giriraj-Books-KapuriNews2