धरान : गएको ३ दिन परेको अविरल वर्षाले धरानको सर्दु जलाधार स्थित मुहानमा बाढी पसेर अवरुद्ध गरेकोले मुहानको खानेपानीको स्रोत अवरुद्ध भएको छ ।

शनिवार देखि धराने जनताका घर घरमा वितरण हुने खानेपानीमा समस्या सिर्जना भएको थियो । ३ दिन देखि  परेको अत्यधिक वर्षाका कारण खोलाहरूको पानीका स्रोतहरूमा बाढी भेलका कारण लेदोको मात्रा बढी भएको खानेपानी बोर्डका निर्देशक राजु पोखरेलले बताएका छन् ।

उनका अनुसार लेदो पसेको पानी फिल्टरले फिल्टरिङ गर्न नसकेको कारण खानेपानी वितरणमा समस्या भएको छ ।

निर्देशक पोख्रेलले अत्यधिक वर्षाले ५ वटै खोला सर्दु, निशाने, खर्दु र भालु खोला, कोकाहाको पानीको स्रोतमा लेदोको मात्रा बढी भएको छ । लेदोको कारण पानी वितरणमा बिहान केही ठाउँमा असहज भएको बताए ।

उनले भने ‘भालु खोलाको स्रोतमा अलि बढी समस्या भएको हो ।’ कर्मचारी टोली परिचालन भइसकेको बताउँदै निर्देशक पोख्रेलले चाडै सहज हुने बताएका छन् ।

उनका अनुसार कुनैपनी खोलाहरूको पानीको स्रोतमा ठुलो क्षति छैन । चाडै पानी सहज रूपमा वितरण हुन्छ । निर्देशक पोख्रेलले भने ‘आवश्यक पानीको अभाव पूर्ति गर्न जङ्गलमा भएका सबै पम्पहरू सञ्चालन गरेर पानी वितरण गर्नेछौ ।’