धरान : अविरल वर्षाका कारण पहाडी क्षेत्रमा गएको पहिरोका साथै बाढीमा परेर कोशी प्रदेशमा शनिवार साँझ सम्म मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । ४ जना बेपत्ता छन्, ४ जना घाइते छन् ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएकोको जानकारी अनुसार अविरल वर्षाले गएको पहिरोले पुरिएर पाँचथरको दुई स्थानमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता छन् ।

पाँचथरको फिदिम-१ साँगेबोट स्थित राजकुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा गरी बसेका फुरुङ्गा हाइड्रो पावरका कर्मचारी फिदिम-१ का ५० वर्षीय गोपी विश्वकर्माको आज शनिवार पहिरोले पुरिएर मृत्यु भएको छ ।

हाइड्रोपावरकै कर्मचारी फिदिम-१ का ५१ वर्षीय कृष्ण दास र उनको श्रीमती ४२ वर्षीय कमला दास, फिदिम-१ का ५५ वर्षीय धनकुमार तुम्वापो र २१ बर्षीया सरस्वता तुम्वापो पहिरोमा परी बेपत्ता भएका छन् ।

पाँचथर जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सहितको टोलीबाट उनीहरूको खोजतलास भइरहेको छ ।

यसै गरी फिदिम-४ चिसापानीमा फुर्लु शेर्पाको घरमा पाहुना आएकी फिदिम-१२ की २४ बर्षीया सपना शेर्पा र उनको ६ बर्षीया छोरी डोल्मा शेर्पाको पहिरोले पुरिएर मृत्यु भएको छ ।

आमा छोरी आदिवासी जनजाति महासङ्घको टिनको छानो भएको सामुदायिक भवनमा सुतिरहेका थिए । त्यसै बेला माथिबाट झरेको पहिरोले उनीहरू पुरिएका हुन ।

धनकुटाको पाख्रीबास-५ गुराँसे देवीथानमा गएको पहिरोमा २ जनाको मृत्यु भएको छ । आज शनिवार बिहान सन्तोष तामाङको घरमा माथिबाट गएको पहिरोले पुरिदा उनको ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्याम सिंह चौधरीको टोलीले उद्धार गरी पुरिएको मृतकहरूको शव फेला पारेको हो । पहिरोमा घाइते सोही घरमा रहेकी छिमेकी २४ बर्षीया मीन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याएको छ ।

छथरजोरपाटी–२ का चन्द्र बहादुर बाजिम्पाक मगरको घरमा माथिबाट पहिरो झरी घर पुरिँदा उनको २० बर्षीया छोरी सृजना बाजिम्पाक मगर घाइते भएकी छन् । उनलाई प्रहरी चौकी जोरपाटीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल धनकुटा पुर्‍याएको छ ।

इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना वृद्धको मृत्यु भएको छ । झापामा ३ जना र मोरङमा १ जना बेपत्ता भएका छन् ।

शुक्रवार दिउँसो माई नगरपालिका -८ का ६८ वर्षीय मैतबहादुर लिम्बु खोला तर्दा बगाएको अवस्थामा स्थनियहरुले फेला पारेका थिए । उनलाई उद्धार गरी उपचारको लागी अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

झापाको कचनकवल-१ जमुवा खोला तर्दा पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ ।

कमल गाउँपालिका-१ का ३५ वर्षीय टिकाराम चौधरी कृष्णे खोलामा माछा मार्न गएको बेला खोलामा डुबी बेपत्ता भएका छन् ।

गौरीगंज–२ सुकुम्वासी टोलका ५५ वर्षीय केनालाल राजवंशी घर नजिकै कृष्णे खोलामा हाम्फाल्दा बेपत्ता भएका छन् ।

यसअघि बिहीबार मोरङको रतुवामाई-७ की ७२ बर्षीया डुरोदेवी राजवंशी झापाको गौरादहबाट मोरङको सिजुवा आउँदा रातुवा खोलाले बगाई बेपत्ता भएकी छन् । बेपत्ता राजवंशीको प्रहरीद्वारा खोजी कार्य भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।