धरान : गएको २ दिन देखी परेको अविरल वर्षाबाट सर्दु खोलामा आएको बाढीले त्यहाँ बनेको पार्कलाई ठुलै क्षति पुर्‍याएको छ ।

धरानका नगर प्रमुख हर्क साम्पाङको श्रमदान अभियान, उपमहानगरपालिकाको ‘नगर प्रमुख कोष’मा कोशी प्रदेश सरकारको समेत लगानीमा उक्त पार्क बनेको हो । पार्कमा १ करोड ९ लाख रुपैयाँ लगानी भएको छ ।

करोडौँ रकम खर्च गरेर बनेको पार्क अविरल वर्षाका कारण सर्दुको बाढीले कटान गरी क्षतिग्रस्त भएको छ । लगातार ३ दिन देखी परेको वर्षामा आएको बाढीले शनिवार एसडिएस पार्कको ३ वटा चौतारालाई खोलाको कटानले क्षति पुर्‍याएको हो ।

खोलालाई खुम्चाएर सानो बनाई धरान-१३ र २० को सङ्गम स्थानमा रहेको सर्दु जलाधार क्षेत्रमा प्रमुख साम्पाङले विभिन्न पार्क निर्माण गरेका हुन ।

साम्पाङले अध्ययन र दीर्घकालीन योजना बिना पार्क निर्माण गरेको भनी अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

खोलामा पार्क निर्माण गरी ‘नागरिकको लगानी बालुवामा पानी’ भन्ने उखानलाई चरितार्थ भएको सम्म कमेन्ट आएका छन् । खोलामा बनेका संरचनाहरूलाई जोगाउन पटक-पटक सरकारी लगानी खर्च गरेको आरोप पनि लगाइएको छ ।

रक गार्डेन कोशी प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा रहेको छ । विगतमा प्रदेश सरकारको लगानीमा रक गार्डेन बनाउँदा प्राविधिकको राय सल्लाह अनुसार नभएको भनी शिलान्यास भएको स्थानलाई स्थानान्तरण गरिएको थियो ।

गत: भदौ १४ र १५ गते आएको अविरल वर्षाको बाढीले चिल्ड्रेन पार्कमा ठुलो क्षति पुर्‍याएको थियो । क्षतिग्रस्त पार्कहरूलाई पुनः श्रमदानका साथै उपमहानगरपालिकाको ‘नगर प्रमुख कोष’को रकम खर्च गरी पुनः निर्माण गरिएको हो ।

पुनः निर्माण गरी ग्याविन लगाइए पनि फेरि बाढी आएमा ठुलो क्षति हुने श्रमदाता कमल बहादुर कटुवालले बताए । उनले भने ‘खोलालाई छेकेर निर्माण गरिएको विकास १२ वर्षमा खोला फर्कन्छ भन्ने उखान जस्तो भएको छ ।’

जति खोला छेकेपनि खोलाले आफ्नो बाटो लिइहाल्ने रहेछ भनी बताउँदै उनले भने ‘खै मेयरसाप र हाम्रो श्रम खोला मै खेर जान्छ पो जस्तो लाग्दैछ ।’

धरान-१३ का एक स्थानीय बासीले (नाम नभन्ने सर्तमा) भने ‘दत्त लिम्बुले खोलामा आएको पैसा खोलामै गयो तेरो बाउको के गयो ? भनेर त पहिला जानेरै भनेका रहेछन् । उनको त्यही भनाई पुरा हुन्छ जस्तो छ' उनले बताए ।

SDS-park-2प्राकृतिक विपत्ति कहाँ, कसरी, कताबाट आउँछ कसैलाई थाहा नहुने बताउँदै उनले खोला नियन्त्रण गरी खुम्चाएर संरचना निर्माण गरिनु नै त्रुटिपूर्ण भएको उनले बताए ।

नगर प्रमुख साम्पाङ अभियन्ता हुँदा सर्दु जलाधार क्षेत्रमा केही पनि संरचना बनाउन नहुने एजेण्डा बोकेर हिँडेका थिए । उनी प्रमुख भएपछि भने त्यही जलाधार क्षेत्रमा विभिन्न पार्कहरू निर्माण गरी कङ्क्रिटका संरचनाहरू खडा गरेका छन् ।