सोलुखुम्बु: सोलुखुम्बुको खुम्बु-पासाङल्हामु गाउँपालिका ४ मा बिहिबार एक जना बिदेशी पर्यटकको मृत्यु भएको छ ।
बिहान करिब ३ बजेको समयमा आमाडब्लम हिमाल आरोहण गर्न जाने क्रममा २ नम्बर क्याम्पमा माथिबाट खसेको ढुंगा लागेर अष्ट्रेलियन नागरिक बर्ष ३३ को माइकल जिओफ्रिको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गाले लागेर ५० मिटर तल खसेका उनको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय लुक्लाले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलु र इलाका प्रहरी कार्यालय लुक्लाबाट प्रहरी टोली गएर शव निकालेको थियो । मृतकको शव कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमको लागि हेलीकोप्टरद्वारा सवा ३ बजेतिर शिक्षण अस्पताल काठमाण्डौ पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।