इटहरी : सुनसरीको दुहबी नगरपालिका वडा नम्बर १० मा नगर प्रहरीले महिलाको घाँटी निमोठेको भिडियो भाइरल भयो । सार्वजनिक जग्गा खाली गर्न दुई दिनको सूचना प्रकाशित गरेको नगरपालिकाले त्यही दिन टहरामा डोजर चलायो ।
पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधिले आफ्नो गतिविधि देखाउन प्राय डोजरको सहारा लिने गरेका छन् । सोही क्रममा दुहबी नगरपालिकाले समेत सोही प्रक्रिया अपनायो । स्थानीय रामकुमारी चौधरी ऐलानी जग्गामा टहरा बनाएर बसोबास गर्दै आएकी थिइन् । बुधवार अतिक्रमण गरी बनाइएको संरचना हटाउने क्रममा उनीमाथि नगर प्रहरी र नेपाल प्रहरीले समेत आक्रमण गरे ।
दुहबी सँगै बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले फुटपाथका पसल हटाउने क्रममा सटर भित्रका सामान थुतेर मिल्काउने र जफत गर्‍यो । उपमहानगरले सर्वसाधारणलाई आवतजावतमा अवरोध भएको भन्दै सर्भिस लेन र फुटपाथमा सञ्चालन गरिएका पसल डोजर लगाएर हटाउने अभियान सुरु गर्‍यो । 
त्यससँगै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले फुटपाथ व्यवसायी माथि गरेको व्यवहार समेत आलोचित बन्ने गरेको छ । फुटपाथ व्यवसायी र कवाडी व्यवसायीलाई धरपकड गर्ने कुटपिट गर्ने गरेका घटनाले नगर प्रहरीको विवेक र अधिकार माथि नै प्रश्न उठेको थियो । महिलामाथि पुरुष नगर प्रहरीले गरेको दुर्व्यवहार निन्दनीय भएको आरोप लाग्ने गरेको थियो ।
पछिल्लो समय इटहरी उपमहानगरपालिकामा समेत नगर प्रहरीले गरेको व्यवहार आलोचित बन्यो । पत्रकार देखि व्यवसायीलाई समेत दुर्व्यवहार गर्ने गरेका घटना यसअघि नै सार्वजनिक भइसकेको थियो । सुन्दरहरैचाका सिटी सफारी चालकलाई ट्वाइलेटमा पुर्‍याएर कुटपिट गर्ने गरेको प्रहरी माथि आरोप छ । नगर प्रहरीले व्यवसायीलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालयमा बुझाउने सम्मका गतिविधि इटहरीमा भए ।
बारम्बार भइरहेका यस्ता घटनाले नगर प्रहरीको भूमिका माथि प्रश्न उठेको छ । नगर प्रहरीका गतिविधि र घटनामा जनप्रतिनिधिले नै मलजल पुर्‍याउने गरेका छन् । भर्खरै दुहबीमा भएको घटनाको विषयमा मेयर वेदनारायण गच्छदारले घटना केही पनि नभएको बताए ।
‘घाटी न्याकेको भन्ने देखिएको मात्र हो । एउटा फोटोलाई देखाएर प्रचार गरिएको हो । खासमा भएको केही हैन । डोजरले हान्ला भनेर तर्काएको मात्र हो,’ उनले भने । केही दिन अगाडी खालि जग्गामा रातारात टहरा राखेर जग्गा ओगटेपछि हटाउन खोजेको उनको भनाइ छ।