धरान : राष्ट्रिय योजना आयोगले २०६८ मै नेपालको शिक्षामा प्राथमिकता तोकेको विषय ‘पोषण तथा आहार विज्ञान’को स्नातकोत्तर पढाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नीतिको कारण सञ्चालन हुन सकेको छैन ।
‘पोषण तथा आहार विज्ञान’ स्नातक तह पहिलो पटक सञ्चालन गर्दै आएको धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसबाट स्नातक गरेकाहरूलाई नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दर्ता नगरेका कारण क्याम्पसले स्नातकोत्तर कार्यक्रम स्थगित गर्दै आएको छ । क्याम्पस प्रमुख प्राध्यापक वसन्त राईले परिषद्को उक्त नीतिप्रति कडा आपत्ति जनाउँदै आइतबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकमा छलफलको एजेण्डानै राखेर नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निहित स्वार्थका कारण विद्यार्थीको भविष्य अन्योलमा परेकाले २०८३ भित्र टुङ्गो लगाउन दबाब बढाउने बताए ।
बैठकमा उनले भने ‘राष्ट्रिय योजना आयोगको प्राथमिकताको विषयमा स्नातकोत्तर सञ्चालन गर्ने सबै तयारी पूरा भए पनि स्नातक तहलाई एनएचपीसीले दर्ता नदिए सम्म सञ्चालन नगर्ने निर्णयमा पुगेका छौँ ।’
राष्ट्रिय योजनाको प्राथमिकताको सूचि पर्नुअघि उक्त विषय पहिलो पटक त्रिवि विज्ञान प्रविधि अध्ययन संस्थान अन्तर्गत धरान स्थित केन्द्रीय प्रविधि क्याम्पसमा ०६६/०६७ देखि स्नातक तहको अध्ययन भइरहेको छ ।
पोषण तथा आहार विज्ञानमा स्नातक गरेका विद्याथीहरुले ठूला अस्पताल, जनस्वास्थ्य तथा तारे होटेल खाद्य उद्योग लगायतमा प्राथमिक योग्यता मानिने आयोगले भनेको छ । सोही आधारमा दक्ष जनशक्ति उत्पादनका लागि क्याम्पसमा ‘पोषण तथा आहार विज्ञान’ शैक्षिक कार्यक्रम सुरु भएको हो ।
तर स्वास्थ्य व्यवसायी परिषद्ले पोषण तथा आहार विज्ञानका स्नातकहरूलाई दर्ता नदिँदा उनीहरूको भविष्य माथि नै खेलबाड भएको छ । क्याम्पसले यसलाई गम्भीर रूपमा लिएर प्रभावकारी भूमिका खेल्नु पर्ने सञ्चालक समितिले निष्कर्ष निकालेको छ ।
पोषण तथा आहार विज्ञानमा २०६६ सालदेखि केन्द्रीय प्रविधि क्याम्पसमा सुरु भएर हालसम्म ५ वटा ब्याचले अध्ययन गरिसकेको छ । अहिले पनि निरन्तरता रहेको पोषण विज्ञानमा २४ जनाबाट ३० जना विद्यार्थी कोटा कायम गरेको छ । तर पढाइ सकेका विद्यार्थीले दर्ता नपाउँदा बेरोजगारी हुनुपरेको बताउँदै आएका छन् भने स्नातकोत्तर पढाई सुरु भएको छैन ।


































































