पथरी: मोरङको पथरीशनिश्चरे नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत आइतवार वडा नम्वर ४, ८ र ९ का लागि शनिश्चरेमा कार्यक्रम सम्पन्न भएको छ ।
ओरेक नेपाल र पथरीशनिश्चरे महिला फेडेरेशनको सहकार्यमा सम्पन्न कार्यक्रममा ‘गलत परम्परागत अभ्यासले महिलाका जीवनमा पारेको असर’ विषयक अन्तरक्रिया भएको छ । कार्यक्रममा नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, ४ नम्वर वडाध्यक्ष गोविन्दवहादुर भण्डारी, ८ नम्वर वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य निर्मला गदालले नगरमा लैंगिक हिंसा हुन नदिने कुरामा अहोरात्र सहयोग पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
ओरेककी खेमकुमारी दाहाल, महिला फेडेरेशनकी संयोजक गोमा दाहाल, महिला अगुवा चन्द्रकला चेम्जोङ, ९ नम्वर वडाका मेलमिलाप संयोजक देवेन्द्र वनेमले महिलाहरुको घरेलु कामको पनि सम्मान गर्दै महिला हिंसा रोक्न सवै पक्ष लाग्नु पर्नेमा जोडदिए । उनीहरुले गलत परम्पराका कारण महिलाहरु बढी हिंसामा पर्न मद्दत पुगेको भन्दै त्यस्ता परम्परालाई हटाउनु पर्नेमा आवाज उठाएका थिए । सो अभियान अन्तर्गत सोमवार १, २ र १० नम्वर वडाका लागि नगरपालिका कार्यालयमा सोही विषयमा अन्तरक्रिया कार्यक्रम हुनेछ ।
यसै बीच शनिबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडा नम्वर ३ र ७ का लागि किराती चोकमा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राई, नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोला, ३ नम्वर वडाध्यक्ष डम्वर चेम्जोङ सहितले मन्तव्य व्यक्त गरेका थिए ।