मोरङ : मोरङको ठडियामा आत्रेयगोत्रीहरुको गोत्र प्रवर्तक ऋृषि आत्रेयको सपत्नी प्रतिमा निर्माणसहितको तीर्थस्थल निर्माण गर्न आयोजित श्रीरामकथा विराट ज्ञान महायज्ञमा तीन कट्ठा वढी जग्गा दाताहरुले दिएका छन ।

आत्रेयगोत्रीहरुको पवित्र तीर्थस्थलका रुपमा विकास गर्ने लक्ष्यसहित पौडेल वंश प्रतिष्ठान नेपालको आयोजनामा सञ्चालन भई रहेको महायज्ञमा विभिन्न दाताहरुले जग्गा दिएका हुन् । महायज्ञ आयोजकले जग्गा तथा नगद दिएका दाताहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ । आत्रेय गोत्रका ३८ थरका मानिसहरुको लागि पवित्र तीर्थस्थलका साथै वहुउपयोगी सामुदायिक भवन, क्रियापुत्री भवन निर्माणका लागि पुराण आयोजना गरिएको आयोजक समितिका अर्थ संयोजक कमल पौडेलले जानकारी दिए । उनका अनुसार महायज्ञमा दाताहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।

महायज्ञमा भारतीय च्यानल जी टिभीको रियालीटी शो सारेगमपको उत्कृष्ट ११ बाट बाहिरीएकी मेनुका पौडेललाई पनि सम्मान गरिएको थियो । यस्तै, ९ जना नवकुमारी पुजाका साथै ४ जना वालिकाहरु रोसिका पौडेल, नेहा पौडेल, आकृति पौडेल, मुना दाहालको सामुहिक गुन्युचोली गरिएको कुमारी पुजन तथा गुन्युचोली कार्यक्रमकी संयोजक टिका आत्रेयले जानकारी दिइन् । महायज्ञमा भारत र भुटानबाट समेत आफना वंशजहरु आएको पनि आयोजकले जानकारी दिएको छ । गत मंसिर २७ गतेबाट सुरु भएको महायज्ञबाट संकलीत सहयोगबाट सांस्कृतिक संग्रालय, थप जग्गा खरीद, एम्बुलेन्स खरीद गरिने समेत वताइएको छ । महायज्ञ यही पौष ७ गतेसम्म सञ्चालन हुने छ ।