धरान : धरानमा अन्र्तराष्ट्रिय परदेशी साहित्य समुहले शनिबार वार्ता विषेशाङ्क पुस्तक ‘परदेशी विम्बहरु’ सार्वजनिक गरेको छ । परदेशी र डायस्पोरा वीच अन्तर र अन्तरक्रिया पनि गरेको छ ।
दुई चरणमा सम्पन्न भएको उक्त समारोहमा सार्वजनिक अन्तवार्ता विषेशाङ्क परदेशी विम्ब पुस्तकमा नेपाली साहित्यमा विभिन्न वाद, प्रयोग र सिद्धान्तका प्रवर्तकहरु ५१ जनालाई समेटिएको छ ।
भारतीय गोर्खा सेनामा कार्यरत सुरेन्द्र परदेशी लिम्बू, भीम विरही राई, बुद्धि तेम्बे ‘माइला’, विनोद संकल्प, दुर्गा सेन्दाङ, सुनकुमारी राईलगायतको प्रयास र पहलमा प्रकाशित उक्त पुस्तकमा झर्रोवादको आन्दोलनका हस्ती बालकृष्ण पोखरेलदेखि नव आयामका सुरेन्द्र परदेशीसम्मका विचार समेटिएका छन् ।
नेपाली बाङ्मयमा हालसम्म स्थापित आन्दोलन, वाद र सिद्धान्तका प्रवर्तकको विचार समेटिएको उक्त पुस्तक नै पहिलो भएको बताइएको थियो । पुस्तक भित्र तेश्रो आयामका वैरागी काइला, राल्फाली मन्जुल, उत्तर आधुनिकवादका प्रा डा गोविन्दराज भट्टराई, संरक्षण कविता आन्दोलका सरुभक्त, हङ्ग्री जेनेरेसनका शैलेन्द्र साकार, सडक कविता क्रान्तिका अशेष मल्ल, मिश्रणवादका घनश्याम न्यौपाने, लेकाली समुहका हिरण्य भोजपुरे, अस्वीकृत विचारका कविताराम श्रेष्ठ, नाभिकिय समालोचनाका प्रा डा गोपाल भण्डारी, भोक कविता आन्दोलनका कृष्ण धरावासी, सृजनशील अराजकताका राजन मुकारुङ, क्वान्टम साहित्यका डा मधु माधुर्य, रंगवादका धर्मेन्द्र नेम्बाङ, हस्तक्षेपवादका राजा पुनियानी, किनारीकरणका मनप्रसाद सुव्वा, शुत्रकथाका डा ध्रुवचन्द्र गौतम, लीलालेखनका इन्द्रबहादुर राई, उत्तरवर्ती सोचका राज माङ्लाक, समुच्च विचारकी दीपा एवाईलगायतको गहन अन्तवार्ता समेटिएका छन् ।

पुस्तकको प्रदेश सभामुख प्रदीपकुमार भण्डारी, प्रा डा टंक न्यौपाने, परदेशी साहित्य समुहका अध्यक्ष सुरेन्द्र परदेशीलगायतले संयुक्तरुपमा विमोचन गरेका थिए ।
समारोहको दोश्रो सेसनमा परदेशी र डायस्पोरा वीच अन्तरका बारेमा अन्तरक्रिया गरिएको थियो । तर्क दर्शनका अभियन्ता चेवन राइले सहजीकरण गरेको उक्त अन्र्तक्रियामा नेपालका पहिलो पटक डायस्पोरामाथि विद्यावारिधी गरेका डा रामजी तिम्सिनाले, परदेशी साहित्य समुहका उपाध्यक्ष भीम विरही, बुद्धि तेम्बे, सुरेन्द्र परदेशीले वहस गरेका थिए ।
कार्यक्रमको अवसरमा परदेशी साहित्य समुहले अमेरिका बसेर नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै डा. मधु माधुर्यलाई सम्मान गरेको थियो भने भुटानबाट शरणार्थी भएर नेपाल हुदै हाल अमेरिका बस्दै आएका साहित्यकार ममता राई मोक्तानलाई ११ हजार १ सय ११ रुपैयाँको परदेशी साहित्य पुरस्कार प्रदान गरिएको थियो ।


अन्तक्रियमा डा. तिम्सिनाले डायस्पोरा र परदेशीमा केही भिन्नता भएको बताए । परदेशी र डायस्पोराको वीचमा सिमाना छ । तर साहित्यको सिमाना हुदैन । यसमानेमा सिमाना विना डायस्पोरा नहुने डा. तिम्सिनाले बताए । नेपाली साहित्यमा डायस्पोराको भावनुवादको रुपमा परदेशी, मुग्लाने र प्रवाशी भनिएपनि एउटा मुलुकबाट अर्को मुलुकमा गएपछि जो फर्केर आउछ त्यो परदेशी हुने र जो फर्केर आएपनि टुरिस्ट भएर वा भिसा लगाएर केही दिनका लागि आउनेलाई डायस्पोरा भनेर बुझ्नु पर्ने डा तिम्सिनाले बताएका थिए ।