तेह्रथुम: तेह्रथुमको फेदाप गाउँपालिका–३, जलजलेमा आइतबार विहान आगलागी हुँदा १८ लाख बढीको धनमाल जलेर नष्ट भएको छ ।

बिहान करिब ६ बजे साविक जलजले–८ का दिलबहादुर कार्कीको घरमा सोलार प्यानलमा बिजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागीबाट कार्कीको फुसको छानो भएको ३ तले घर, घरमा रहेको किराना पसल, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, तेह्रथुमले जनाएको छ ।

आगलागीबाट करिब १८ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको पोक्लाबाङ प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ब्रह्मदेव यादवले बताए । उक्त स्थानमा प्रहरी चौकी पोक्लावाङबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा बिहान पौने ९ बजे आगलागी नियन्त्रणमा लिएको थियो । घटनापछि नेपाल रेडक्रस सोसाइटीले पीडित परिवारलाई एक सेट राहत सामाग्री उपलब्ध गराएको छ । आगलागीपछि कार्कीको ५ जनाको परिवार विचल्लीमा परेको छ ।