तेह्रथुम:तेह्रथुमको आठराई गाउँपालिकाले जटिल प्रकृतिका रोगहरु र विपद्बाट पीडितहरुलाई सहयोगको लागि आकस्मिक कोष स्थापना गरेको छ ।

गाउँपालिकाले कोष स्थापना गरी कोषको सन्चालनको लागि आकस्मिक कोष सन्चालन, खोजी, उद्दार, राहत तथा पुनस्थापना खर्च व्यवस्थापन कार्यविधि–२०७५ समेत लागु गरेको छ । कोषमा तत्कालको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरी पीडितहरुलाई सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष मानबहादुर लिम्बुले बताए । उनका अनुसार कोषबाट गाउँपालिका क्षेत्रभित्रका मस्तिष्क रोग, क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हृदयघात जस्ता जटिल प्रकृतिका रोगहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्य लिइएको छ ।

व्यक्ति वा सामाजिक संस्थाहरु समेत कुनै पनि विपत्ति र जटिल प्रकृतिका रोगहरुबाट पीडित भएको अवस्थामा उनीहरुको उद्दार र राहत तथा उपचारकालागि सहयोग स्वरुप अधिकतम ३० हजार रुपैयाँसम्म उपलब्ध गराउने गरिएको छ । कोषबाट चालु आर्थिक वर्षमा १६ जना व्यक्ति र एउटा विद्यालयलाई सहयोग उपलब्ध गराइएको अध्यक्ष लिम्बुले बताए ।
गाउँपालिकाका अनुसार यो वर्ष आँखा रोगी करण थापा, ब्लड क्यान्सर पीडित मोहन लिम्बु, अतिप्रभावित मानबहादुर ल्वागुनलाई जनही ३० हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराइएको छ । यस्तै अंगभंग भएकी मनिषा लुइटेल, मेदनीप्रसाद मोक्तान र अति प्रभावित डम्बरबहादुर तामाङलाई जनही २५ हजार रुपैयाँका दरले सहयोग वितरण भएको उपाध्यक्ष रुपादेवी कन्दङवाले बताइन् ।

यस्तै विपद् प्रभावित केलिङ आधारभूत विद्यालयलाई १५ हजार, भीमबहादुर बाराकोटीलाई १५ हजार र मिर्गौला रोगी बलबहादुर विक, मष्तिष्क रोगी जयनारायण आचार्य, क्यान्सर रोगी गंगीमाया लिम्बु, व्लड क्यान्सर पीडित पदम बाँस्कोटा, फोक्सो रोगी विवेश लिम्बु र मष्तिष्क रोगी डम्बरबहादुर थापालाई जनही २० हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको छ ।

यस्तै मुटुरोगी सरस्वता ढुंगेल, खेमबहादुर लिम्बु र कुमारी लिम्बुलाई जनही १० हजार रुपैयाँका दरले उपचार सहयोग उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ । कोषको सन्चालन तथा व्यवस्थापनकालागि गाउँपालिका अध्यक्षको अध्यक्षतमा प्रहरी, रेडक्रस, संघसंस्था र पत्रकार समेत सहभागी समिति रहने कार्यविधिमा व्यवस्था गरिएको छ । सो समितिले कोषकालागि सहयोग जुृटाउने, विपद् सम्बन्धी सचेतनामुलक कार्य गर्ने लगायत कार्यहरु समेत गर्नेछ ।

कार्यविधिले जुनसुकै विपद्मा परी परिवारको सदस्य गुमाएका परिवारलाई प्रति परिवार ५० हजार रुपैयाँ वितरण गरिनेछ । कार्यविधिले विपद्लाई सामान्य, आंशिक र अति प्रभावितको रुपमा वर्गीकरण गरेको छ । विपद्मा सामान्य प्रभावितहरुलाई अवस्था हेरी ५ देखि १५ हजार रुपैयाँ, आंशिक प्रभावितहरुलाई १५ देखि २५ हजार रुपैयाँसम्म र अति प्रभावितहरुलाई २५ देखि ५० हजार रुपैयाँसम्म राहत वितरण गर्ने कार्यविधिमा उल्लेख रहेको छ ।