इटहरी:धरान–इटहरी सडक खण्डको तरहरा उत्तर पानीपिया सवारी दुर्घटनाको दृष्टिले जोखिमपूर्ण क्षेत्र मानिन्छ । सोही स्थानमा धार्मीक कार्यक्रम सञ्चालन गर्दा जोखिममा कमी आउने विश्वास सहित तरहरा पानीपिया अध्यात्मिक विकास संस्थाको आयोजनामा गणेशको मन्दिर र मूर्तिको स्थापना गरिएको छ ।
शुक्रबार इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले मन्दिरको उद्घाटन गरेका थिए । उनले यो ठाउँमा अत्यधिक दुर्घटना हुने भएकाले यस क्षेत्रमा मन्दिर स्थापना गर्नु सराहनीय रहेको बताए । आफ्नो वडाबाट यो ठाउँमा मन्दिर निर्माण गर्नका लागि सहयोग गर्ने उनको प्रतिबद्धता थियो । यहाँ दुर्घटना भएर मृत्यु भएका मानिसहरुको आत्मशान्तिका लागि र आगामी दिनमा यस ठाउँमा दुर्घटना नहोस् भन्ने धार्मिक विश्वासले यहाँ मन्दिर निर्माण गर्न लागिएको पानीपिया तरहरा आध्यात्मिक विकास संस्थाकी अध्यक्ष सारदा कटवालले बताईन् । केही बर्षयता बर्षेनी यस ठाउँमा धार्मिक कार्यक्रम गर्दै आएको बताउँदै उनले भनिन्,‘यो ठाउँमा धार्मिक पर्यटकीय क्षेत्र बनाउँने उदेश्यले मन्दिर निर्माण गरिएको हो ।’
दुर्घटनामा निधन भएका मानिसको आत्माशान्ति साथै मानव कल्याण रुद्री हवन, भजन कृतन लगायतका कार्यक्रम गरि यस क्षेत्रमा हुने दुर्घटना रोक्नका लागि प्राथना गरिएको सचिव कमल दाहालले बताए । कार्यक्रममा श्री १०८ परमहंम्स हेमाश्रम महाराजले मन्दिर निर्माण गरि यो ठाउँमा पर्यटकीय क्षेत्रका लागि पनि सम्भावना रहेको बताए । उक्त कार्यक्रम राधा कटवालको संयोजकत्वमा सम्पन्न भएको थियो । पहिले पहिले यहि ठाउँ मसानघाट रहेको र अहिले धार्मिक कार्यक्रम गर्दा यहि ठाउँ धार्मिक क्षेत्र बनाउने विश्वास छ ।