मृगौलिया (मोरङ)  : मोरङ मृगौलियाका महेश महतोले तरकारी खेती गरेको एक दशक बढी भयो । उनले आँफूले कृषि पेशामा आत्मनिर्भर भएसँगै स्थानीय वैदेशिक रोजगारीमा गएका युवाहरुलाई पनि आफ्नै माटोमा कृषि पेशा गर्नका लागि प्रोत्साहित गर्दै आएका छन् । तर, बेला बेला आउने समस्या र झन्झटले उनलाई मात्रै नभएर कृषि क्षेत्रमा लगानी गर्ने जो कोहिलाई पनि दिक्क लाग्छ ।

यतिबेला सिँचाईको राम्रो व्यवस्था नहुँदा यहाँका कृषकहरु मारमा परेको गुनासो गर्छन् । सुन्दरहरैंचा २ का किसानहरुले सिँचाई सुविधा राम्रो नभएको तथा विद्युत लाईन समेत कम भोल्टेजको हुँदा व्यवसायिक कृषकहरु मारमा परेका हुन् । ‘कृषिका लागि विजुलीको भोल्टेज बढी चाहिन्छ, कृषिका लागि कम भोल्टेजले उपयुक्त हुँदैन,’ महतोले भने, ‘सिचाईँको सुविधा राम्रो नहुँदा समस्या त हुन्छ नै ।’ कृषिका लागि सहुलियत मिटर उपलव्ध नहुँदा पनि समस्या हुने गरेको बताउँदै सहुलियत मिटर उपलब्ध गराउनु पर्ने तथा प्रयाप्त भोल्टेज पुग्ने विद्युत लाईन विस्तार गरिए कृषि उत्पादन वढ्ने साथै लगानी गर्नका लागि समेत सहज हुने बताउँछन् । स्थानीय रघुनन्दन महतो पनि कृषि क्षेत्रमा प्रयाप्त सम्भावना भएपनि सम्बन्धित निकायले सहयोग नगर्दा निराश भएको सुनाउँछन् । केही समयअगाडि मात्रै कागती खेती सुरु गरेका उनी भन्छन्, ‘सरकारी निकायबाट कृषि क्षेत्रका लागि विभिन्न तालिम र उचित सहयोग भएमा कृषि क्षेत्रबाट परिवर्तन सम्भव छ ।’

आँफूहरुले कृषि क्षेत्रमा उचित सीप नसिकेका कारण समस्या हुने बताउदै आँफूहरु परम्परागत खेती गर्दै आएको उनले बताए । कृषिका लागि आवश्यक पर्ने बिउ तथा मल समेत समयमा नपाईने गरेका कारण कृषकहरु निराश हुने गरेको उनी सुनाउछन् ।
यता नेपाल सरकारले भने कृषकहरुलाई प्रोत्साहन गर्ने विभिन्न किसिमका प्याकेजहरु ल्याएको बताउँदै आएपनि वास्तविक कृषकले सहयोग नपाउँदा कृषि क्षेत्रमा जोखीम भित्रिरहेको कुरा नौलो रुपमा छैन । त्यस्तै, मोरङ सुन्दरहरैँचा २ मृगौलियाका भीम निरौला पनि कृषकले आफूँले उत्पादन गरेको सामानले उचित मुल्य नपाउँदा चिन्तित बनेको सुनाउँछन् ।

यहाँ रहेका कृषकहरुले भैंसी पालेर दुध उत्पादन गर्ने भएकाले तिनीहरुले उत्पादन गरेको दुध उचित मुल्यमा बिक्री नहुँदा यहाँका सय जना भन्दा बढी कृषकहरु समस्यामा पर्दै आएको निरौला बताउँछन् । गाउँभरीबाट अहिले पनि डेढ सय लिटर भन्दा बढी दुध उत्पादन भइरहेको भएपनि कृषकले ४० देखि ४२ रुपैँया मात्र पैसा हात पार्ने भएकाले कृषकहरुले वास्तविक मुल्य नपाएको निरौलाको गुनासो छ । उनी भन्छन्, ‘दुधको पर्याप्त मुल्य पाइँदैन, मुख्य कृषकले मुल्य पाउँदैनन्, बिचौलियाहरुले कमाउने गरेका छन्, कृषक भनेको सिर्का दुध दोएर ल्याउने हो, बिचौलिया नहुने हो भने वास्तविक कृषक मर्ने अवस्था आउँथेन ।’

तस्बिर : धरानमा प्रत्येक शनिबार लाग्ने अर्ग्यानीक तरकारी वजारमा किनमेल गर्दै ग्राहकहरु