धरान: पाँच वर्ष यता ल्याण्डरोभर, पिकअप सञ्चालन हुदै आएको खोटाङको लिकुवापोरीमा यात्रुबाहक बस पुगेको छ । छिमेकी जिल्ला भोजपुरको आमचोक गाउँपालिका दक्षिणभेग रानीटारदेखि बालङखाहुँदै सोमबार पहिलो पटक यात्रुबाहक बस लिकुवापोखरी पुगेको हो ।

लिकुवापोखरी जिल्लाको खोटेहाङ गाउापालिका–१ मा पर्छ । उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित रानीटार पारीदेखि भोजपुरको आमचोक गाउँपालिका बालङखा, पापमाखाको ग्रामिण सडक छिचोल्दै यात्रुबाहक बस पहिलो पटक लिकुवा पुग्दा स्थानीबासीले भब्य स्वागत गरेका थिए । वडाध्यक्ष खड्गबहादुर कार्कीले रिबन काटेर बसलाई स्वागत गरेका थिए । लिकुवादेखि रानीटारसम्मको सडक दुरी करिब ४२ किलोमिटरको रहेको वडाध्यक्ष कार्कीले बताए । गाउँमा बस पुगेपछि स्थानीयबासी हर्षित बनेका छन् ।

वडाले ५ लाख २५ हजार रुपैयाँको लागतमा लिकुवादेखि–भोजपुरको पापमाखाम भज्याङसम्मको साढे ७ किलोमिटर सडकको स्तोरोन्नती गरेपछि यात्रुबाहक बस आउन सहज भएको वडाध्यक्ष कार्कीले बताए ।‘ठाउँठाउँमा सडकको घुम्तीहरु साघुरो ठाउँमा सडक फराकिलो गरेका थियौं’ वडाध्यक्ष कार्कीले भने ‘दुःखका साथ रानीटार बालङखा, पापमाखाहुदै लिकुवापोखरीमा पहिलो पटक बस ल्यायौ’ । अब सडकको स्तोरोन्नतीको लागि केन्द्र र प्रदेश सरकारसंग पनि माग गरिने बताए । बस लिकुवापोखरीदेखि विहान रानीटारको लागि प्रस्थान गरेर बेलुका पुनः लिकुवा नै फर्कन्छ । कोशी बस व्यावसायि संघ अन्तगर्त सञ्चालनमा आएको बसको भाडा दर ७ सय रुपैयाँ तोकिएको छ ।

bus sanchalan khatang pic (2)

लिकुवाबाटै सञ्चालन हुदै आएको ल्याण्डरोभर र पीकअपले १२ सयसम्म लिने गरेको थियो । ‘सानो गाडीमा दुःखका साथ यात्रा गर्नुपर्ने बाध्यता थियो, यहाँका यात्रुहरुले रानीटारसम्मको १ हजार देखि १२ सय रुपैयाँसम्म भाडा तिदै आएका थिए, अब बसमा ७ सय रुपैयाँमा पुग्छन्, सामान ल्याउन लान पनि बाटोमा झन्झट भएन’ वडाध्यक्ष कार्कीले भने । लिकुवापोखरीसम्म बस सञ्चालन आएपछि गाउँपालिकाको अन्य वडाहरु २, ३, ४, वापलखा, सावाका स्थानीयले प्रत्यक्ष लाभाम्वित हुने उनले बताए । गाउँमा उत्पादन हुने कृषिजन्य बस्तुहरुको ढुवानीमा पनि सहज हुने उनले बताए । ट्याक्टर, पिकअपमार्फत ठुवानी गदै आएका स्थानीयहरुले बस सञ्चालनमा आएपछि सहुलियत रुपमा आफ्नो उत्पादन र यात्रा गर्न सहज पुग्ने उनले बताए ।

केन्द्र र प्रदेशबाट आएको बजेट खोटाङ बजार तिरै केन्द्रीत भएपछि लिकुवा अलिक पछि परेकाले अब सडक विस्तार गरेर यहाँका कायपलट गर्ने बताए । अहिले अस्थायी राजधानी विरानगर र धरान पुग्नको लागि दिउँसो करिब २ बजेसम्ममा पुग्न सकिने उनले बताए । सात वर्ष अघि मात्र लिकुवापोखरीलाई सडक सञ्जालले जोडेको हो । तत्कालिन गाउँविकास समितिको बजेट र स्थानीबासीको सहयोगमा सडकको ट्याक खोलिएको थियो । सडकको ट्याक भोजपुर सदरमुकामदेखि जोडिएपछि ट्याक खोलेको दुई वर्षपछि नै हिउदको समयमा ल्याण्डरोभर र पिकअप सञ्चालन भएको थियो । अहिले पनि सञ्चालन हुदै आएको छ । तर, बर्खाको समयमा ठप्प हुने गरेको स्थानीय जिवन राईले बताए ।

लिकुवा–भोजपुर सदरमुकामको कच्ची सडक दुरी करिब ५२ किलोमिटर छ । लिकुवादेखि ल्याण्डरोभर, पिकअप भोजपुर सदरमुकाम चल्ने थालेपछि स्थानीयले ठुलो राहत पाएका थिए । अहिले बस सञ्चालन हुने भएपछि स्थानीय थप उत्साहित छन् । ‘सडकको ट्याक खुलेपछि ट्याक्टर र मोटरसाइलक चल्न थाल्यो, त्यसपछि ट्याक खुलेको दुईवर्ष पछि ल्याण्डरोभर, पिकअप पनि चल्न थाल्यो तर, अब बस सेवा पनि सञ्चालन हुने भएपछि हामीलाई ठुलो राहत मिल्छ’–स्थानीय जिवन राईले भने ।

bus sanchalan khatang pic (1)

बस सेवा सञ्चालन हुँदा धेरै मानिसहरु लाभाम्वित हुने बताउदै राई थप्छन् ‘यहाँका स्थानीयले मात्र हैन, छिमेकी गाउँपालिका जन्तेढुगा गाउँपालिका केही भाग र भोजपुरको रामप्रसाद राई गाउँपालिका केही भागका मानिसहरु पनि जोडिन्छन् ।’ यस क्षेत्रको मानिसहरुको लागि दैनिक उपभोग्य बस्तुहरु खरिद गर्न आफ्नो उत्पादन विक्रीको लागि तराईका जिल्ला उदयपुर, सप्तरी पुग्नुपर्ने बाध्यता छ । त्यसको लागि आवतजावत गर्न सहज छैन् । मुख्य बाधकको रुपमा दुधकोशी नदी छ । उदयपुरको चौदण्डी नगरपालिकास्थित रानीटारसम्म बस सेवा सञ्चालन हुदै आएको छ ।

रानीटार–धरान सिधै बस सेवा सञ्चालन भएपनि रानीटारबाट झोलुङगे पुल तरेर भोजपुरको दक्षिणी भेग र खोटाङको पूर्वी भागको मानिसहरुले गन्तव्यमा पुग्नुपर्ने बाध्यता छ । मानिसहरु झोलुङगे पुलबाट जोखिपूर्ण तरीकाले मोटरसाइकल आवतजावत गर्छन् । जहाँ पक्की पुल निर्माणको लागि गतवर्ष शिलान्यासा समेत गरिएको थियो । तर, अहिलेसम्म निर्माण कार्यले गति लिन सकेको छैन । करिब सात वर्ष अघिसम्म यस क्षेत्रका मानिसहरु बस चढ्न भोजपुर सदरमुकाम अथवा उदयपुरको बेल्टार पुग्नु पर्थ्यो । उदयपुरको बेल्टारमा आफ्नो उत्पादन बस्तुहरु सुन्तला, अम्लिसो, जडीबुटी जन्य बस्तुहरु ढाकरमा बोकेर झार्नु पर्ने बाध्यता थियो ।

आफ्नो उत्पादन विक्री गरिसकेपछि दैनिक उपभोग्य नुन, चिनी, चामललगायतका बस्तुहरु खरिद गरेर ढाकरमा बोकेर लानुपर्ने बाध्यता थियो । तर, अहिले धेरै ग्रामिण सडक सञ्जालले गाउँगाउँलाई जोडेपनि सडकको बेलाबलामा मर्मत सम्भार नगर्दा कच्ची सडक जिर्ण भनेपछि समस्या उस्तै भएको छ । ‘गाउँगाउँमा कच्ची सडक त पुग्यो, तर बेला–बेलामा मर्मत गर्ने काम गरिदैन, उस्तै, समस्या छ, तर पहिला भन्दा अलिक सहज छ’–जन्तेढुङगा गाउँपालिका वडा नं. ४ का स्थानीय शिक्षक बाबुराम राईले भने ।

सडक निर्माण गरिदै

khawarang-vir-pic-(1)

खेटाङको चिसापानी–बङशिलाघाट ग्रामिण सडक १ वर्षअघि मात्र जोडिएको हो । जन्तेढुङगा गाउँपालिकाको चिसापानीदेखि ग्रामिण सडकको ट्याक खुलेपछि चिसापानी–बङशिलाघाट ल्याण्डरोभर, पिकअप आवातजावत गरिरहेको छ । बङशिलाघाट र उदयपुरको चौदण्डि गाउँपालिका छुइलालाई झोलुङगे पुलले जोडेको छ । पक्की पुलको नहुँदा बेल्टारबाट गएका सावारी छुइलाको फेदीसम्म मात्र पुग्छ भने त्यहाबाट झोलुङगे पुल तरेर बङशिलाघाटबाट लयाण्डरोभर र पिकअपबाट चिसापानी पुगिन्छ । एक जना बराबर भाडा १ हजार रुपैयाँ लिने गरिएको छ ।

ग्रामिण सडक भएकोले यातायात सञ्चालन हिउदमा मात्र भएपनि खोटाङ दक्षिणी भेगका मानिसहरुको लागि आवातजावतमा सहज आएको छ । त्यसैगरी, चिसापानी–चुम्लुङक–भोजपुरको पापमाखाम सडक भने भर्खरै ट्याक खोल्ने काम भइरहेको छ । उक्त सडक खण्डको खावाराङ भिरमा चट्टान कारण सडक निर्माण कार्य रोकिएको स्थानीय जन्तेढुङगा गाउपालिका–४ चुम्लुङका स्थानीय शिक्षक बाबुराम राईले बताए । त्यसको लागि केन्द्रीय सरकार अन्तर्गतको स्थानीय पूर्वाधार विकास कोषमार्फत २० लाख रुपैयाँ बजेट छुटिएको उनले बताए ।

सांसद विशाल भट्टराईको पहलमा बजेट छुट्टिएपछि पापमाखाम–चुम्लुङ–चिसापानी–बंङशिलाघाटसम्मको यातायात आवाजावतलाई सहज हुने उनले बताए । ‘अब चुम्लुङ–चिसापानी–बंङशिलाघाट हुँदै ५ घण्टाको दुरीमा बेल्टार पुग्न सक्छौं ’– उनले भने । चिसापानी–चुम्लुङ ग्रामिण सडक खण्डको बाटोको ट्याक करिब ४ वर्ष अधि नै खोलिएको थियो । यो ट्याक खुल्ने वित्तिकै सिधै भोजपुर सदरमुकाम जोड्न सकिन्छ । त्यसैगरी, पापमाखाम–बालङखा–रानीटार–शिखरमाडी–शनिबारे–रामपुर–चतराहुदै धरान, इटहरी पुग्न सकिन्छ ।