फिदिम: पाँचथरमा उत्पादित कालो ग्यामेरा उखुको सक्खरको माग अत्यधिक रहेको छ । कालो ग्यामेरा उखु कमलपित्त, पत्थरीलगायत रोगको औषधि मानिन्छ ।

सीमित क्षेत्रमा व्यावसायिकरूपमा खेती हुन थालेको यो उखु उत्पादनको माग पूरा गर्न कृषकलाई हम्मेहम्मे छ । धार्मिक अनुष्ठानमा समेत यो उखुको सक्खरको प्रयोग हुने गरेको छ । फिदिम नगरपालिका–४ तथा हिलिहाङ गाउँपालिका–७ तीनभङ्गालेका नौ परिवारले व्यावसायिक कालो ग्यामेरा उखुको खेती गर्दै आएका छन् । यहाँ यस वर्षबाट करीब ६० क्विन्टल सक्खर उत्पादन गर्न लागिएको छ ।

माग अत्यधिक रहेका कारण वर्षेनी उत्पादन वृद्धि गर्दै लगिएको अगुवा कृषक मदनकुमार पोखरेलको भनाइ छ । कालो ग्यामेरा उखु व्यावसायिक रूपमा सक्खर उत्पादनका लागि खेती भएको जिल्लामै यो पहिलो घटना हो । यहाँ अन्य प्रजातिका उखुबाट सक्खर बनाइए पनि कालो ग्यामेरा उखु खान र खुँदो बनाउन मात्रै पर्याप्त हुने गरेको थियो ।

अगुवा कृषक पोखरेलले दुई वर्षअघिबाट यहाँ कालो ग्यामेरा उखु खेतीलाई व्यावसायिक बनाएको थियो । परम्परागतरूपमा सीमित क्षेत्रमा खेती गर्दै आउनुभएका अन्य स्थानीयवासीले समेत उहाँकै सिको गर्दै व्यावसायिकरूपमा सक्खर उत्पादन गर्न थालेको छ । हेवाखोलाको किनारामा पर्ने यो क्षेत्रमा निर्माणाधीन तल्लो हेवा जलविद्युत् आयोजनाका कारण धानखेतीका लागि सिँचाइको प्रबन्ध गर्न समस्या भएपछि कृषक वैकल्पिक खेतीको खोजीमा थिए । पोखरेलले अगुवाइ गरी उखु पेल्ने आधुनिक मेसिन भित्र्याएपछि आफूहरुले समेत उखुखेतीलाई व्यावसायिक बनाएको कृषक रामप्रसाद थापाको भनाइ छ । पोखरेलले १० वर्षका लागि वार्षिक रु ५५ हजार तिर्ने सर्तमा ३० रोपनी जमीन भाडामा लिएर खेती थाल्नुभएको हो । यहाँ यस वर्ष रु १५ लाखको सक्खर उत्पादन हुने पोखरेलको अनुमान छ ।