झापा: दशक अघिको कुरा हो । गाँउ शहरमा घण्टी बजाउँदै साइकल गुड्थ्यो । गाउँबाट शहर जान, स्कुल जान, कार्यालय पुग्न पनि साइकलको प्रचलन थियो । देहाती गाउँमा त साइकल जीवनशैली नै बनेको थियो । एउटा साइकल स्टोरबाट एक दिनमै पाँच भन्दा बढी साइकल बिक्री हुन्थ्यो । तर हिजोआज बिक्री स्वाट्टै घटेको झापाको दमक बजारमा रहेको पाथिभरा साइकल स्टोरका प्रवन्धक विष्णु ढकाल बताउँछन् ।

बदलिदो जीवन शैलीसँगै मान्छेको ब्यस्तता बढेको छ । ब्यस्तताले मान्छेको रोजाइ छिटो र व्यवस्थित सवारी साधनमा केन्द्रित छ । एउटा यस्तो समय थियो, साईकलको नम्बर प्लेट दिन्थ्यो गाविस र नगरपालिकाले । गाँउमा साईकल गुडाउनेको छुट्टै सान थियो । तर दशक अघि साघुँरो गल्लीदेखि फराकिला बाटोमा देखिने साइकलको लर्कोलाई मोटरसाइकल र मोटरले विस्थापित गरिदिएको दमकस्थित दन्तकाली साईकल स्टोरका प्रबन्धक राजकुमार अग्रवाल बताउँछन् ।

cyclel

साइकल बेचेर मात्र अब जिविका चलाउने कुरा व्यापारीको लागि टाढाको कुरा भइसक्यो । साइकलको साटो घरघरमा मोटरसाईकल पुगिसकेको छ । बाटो दिनप्रतिदिन फराकिलो र पक्की चिल्लो बनिरहेको छ । अर्थात हिँडडुललाई छिटो छरितो बनाउन मोटरसाईकल र अरु सवारीका साधन प्रचलनमा अभ्यस्त बन्दै गएको छ, जीवनशैली । साइकल नै चढे पनि महँगा र गियरवाला साइकलको चलन आएको छ, त्यो पनि हुनेखानेले मात्र चढ्ने गरेको लक्ष्मी साईकल स्टोरका प्रवन्धक सुमन साह बताउँछन् ।

इन्धन नलाग्ने, गुडाँउदा कसरत पनि हुने, खरीद गर्न अरु सवारी साधन भन्दा महँगो पनि नपर्ने । साइकलका अनेक फाइदा छन् । तर बदलिदो जीवनशैलीले साईकललाई विस्थापित गर्दै लगेको गौरादह बजारमा रहेको कंचन साईकल स्टोरका संचालक मोहन खनाल बताउँछन् । साइकल व्यापारीहरुका अनुसार अचेल शहरिया युवा पुस्ता साइकलमा रुचि त राख्छन्, तर उनीहरु स्वास्थ्य र मनोरञ्जनको उद्देश्य मात्र हुन्छ । सातामा एक, दुई पटक साइकलमा घुम्ने र अरुबेला मोटरसाइकलमै हुइकिन्छन् । साइक्लिङ खेलको पनि एउटा विधा हो । साइक्लिङ साहसिक खेल पर्यटनमा पर्छ । तर, यसप्रति सिमितको मात्र ध्यान छ । कुनै समय दैनिक आवश्यकता र जीवनशैली बनेको साइकलको प्रचलन लोप हुदै गएको छ । 

तस्बिर स्रोत: गुगल