धरान: हिन्दु धर्मका आराध्यदेव शिवको महिमाको प्रचार र मानिसमा धर्मप्रतिको आस्था जगाउन पिण्डेश्वरमा शिवपुराण आयोजना भइरहेको छ ।

दश दिनसम्म आयोजना हुने पुराणको आइतबार तेस्रो दिन शिवरात्रीको कथा भगवान् शिव पार्वतीको अर्धनारिश्वर वर्णन गरिएको थियो । रुद्राक्षारण्यको केन्द्र पिण्डेश्वरमा भएको शिवपुराणमा शनिवार रुद्राक्षको उत्पत्ति कथा, रुद्राक्षका प्रकारहरु, रुद्राक्षको महिमा र व्याख्या गरिएको थियो ।

हालसम्म भगवान् शिवजीको विष्णुले शिवजीलाई प्रसन्न बनाउन गरेको प्रयासहरु तथा सृष्टिको उत्पत्तिका बारेमा बताइएको पुराण वाचक पण्डित अर्जन निरौलाले जानकारी दिएका छन् । श्री पिण्डेश्वर बाबाधामले आयोजना गरेको शिवपुराणको शुक्रबार धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले संकल्प गरेर उद्घाटन गरेकी थिइन् ।

पुराणको दोस्रो दिन प्रदेश नं. १ का सभामुख माननीय प्रदिप भण्डारी र तेस्रो दिन प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले पुराण श्रवण गरेका थिए । विशुद्ध धार्मिक भावनाले आयोजना गरिएको शिव पुराण फागुन २० गतेसम्म संचालन हुने समितिका अध्यक्ष विकास कुमार बनेपालीले बताए । पुराणको उपवाचक पण्डित प्रताप भट्टराई रहेका छन् ।