धरान (डेस्क) : प्रदेश नम्बर १ को धनकुटा र मोरङमा आइतबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका ८ याङलाबुङ भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।
दिउँसो साढे १२ बजे भित्री सडक खण्डमा ना ४ त ९६५४ नम्बरको ट्याक्टर घुमाउरो बाटोमा ब्याक गरेर फर्काउने क्रममा अनियन्त्रित भई सडक देखी अन्दाजी १५० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्याक्टर चालक महालक्ष्मी नगरपालिका ८ बस्ने २७ वर्षीय बाल कुमार पुलामी मगर र ट्याक्टरमा सवार ११ वर्षीय अनिल मगरको घटनास्थलमा नै मृत्यु भएको हो भने ३८ वर्षीय छबिलाल पुलामी मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घाइतेलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी सिधुवा पठाईएको छ । त्यसैगरी मोरङको मिक्लाजुङ गाउँपालिका ९ मधुमल्ला बजारमा ट्याक्टरले किचेर १ महिलाको मृत्यु भएको छ ।
बेलुका ७ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को २ त ६६५० नम्बरको ट्याक्टरले पैदल हिडिरहेकी सोही स्थान बस्ने ३२ वर्षीय माया तामाङलाई ट्याक्टरले टाउकोमा किचेको थियो ।
दुर्घटनामा तामाङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । घटनास्थलमा मधुमल्लाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव परिक्षणको लागि मंगलवारे अस्पताल उर्लावारी पठाईएको उक्त कार्यालयले जनाएको छ ।