धरान: सवारी दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले सुनसरीमा पनि ‘१५ दिने सवारी दुर्घटना न्यूनिकरण महाअभियान’ को शुरुवात गरेको छ ।

यो अभियानको हिजो झापाको विर्तामोडबाट औपचारिकरुपमा शुरुवात भएको थियो । आज प्रदेश १ भरिका बाँकी जिल्लाहरुमा यो अभियानको शुरुवात गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको व्यावस्थापनमा धरानमा सार्वजनिक सवारी चालकरुलाई पोशाक वितरण गदै सुनसरीमा महाअभियानको शुरुवात गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक बाबुकाजी गिरीले बताए । महाअभियानको पहिलो दिन आज सार्वजनिक सवारी साधनका चालकलाई पोशाक वितरण र सवारी नियमबारेका पर्चा पप्मप्लेटहरु वितरण गरिएको उनले बताए । ‘सवारी दुर्घटना न्यूनिकरण गर्न आजदेखि सुनसरीमा पनि महाअभियान शुरु गरिएको छ,’ गिरीले भने,‘भोलीदेखि जिल्ला मातहतका यूनिटहरुले त्यहाँका सरोकारवालहरुसँग महाअभियान अन्तगर्तका कार्यक्रमहरु गर्ने छन् ।’

प्रहरी निरीक्षक गिरीका अनुसार १४ दिने महाअभियान अन्तर्गत स्थानीय तहसँगको समन्वयमा अव्यवस्थित पार्किङ हटाउने, उद्योग बाणिज्य संघसँग अन्तरक्रिया गर्ने, सवारी चालकहरुको स्वास्थ्य जाँच, ट्राफिक प्रहरीको स्वास्थ्य जाँच, सार्वजनिक सवारी साधनको चेकजाँच, सवारी दुर्घटना न्यूनिकरण सम्बन्धमा सञ्चालकर्मीसँग अन्तरक्रिया, चालकलाई असल चालक बन्ने प्रतिबद्धतालगायत कार्यक्रमहरु गरिने छ । करिब ८५ जना विभिन्न सवारी साधनका चालकलाई पोशाक वितरण गरिएको गिरीले बताए ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख डिएसपी बेद प्रसाद गौतमले नेपालमा ८० प्रतिशत सार्वजनिक सवारी दुर्घटना चालकको कारण भएको तथ्याङमा उल्लेख रहेको बताए । बाँकी २० प्रतिशत सवारी साधन र बाटोको दुराअवस्थाको कारण हुने गरेको उनको भनाई थियो । ‘८० प्रतिशत दुर्घटना चालक कै कारण हुदो रैछ, बाँकी २० प्रतिशत यान्त्रीक समस्या र बाटोको दुरा अवस्थाको कारण हुन्छ,’डिएसपी गौतमले भने । सवारी दुर्घटना न्यूनिकरणको लागि चालक जिम्मेवार बन्न उनले आग्रह गरे । सवारी चालक र ट्राफिकको सहकार्यमा मात्र दुर्घटना न्यूनिकरण गर्न सकिने बताउदै चालकहरुलाई जिम्मेवार बन्न पटक–पटक आग्रह गरे । ‘तपाई र हाम्रो सहकार्यले मात्र सवारी दुर्घटना कम गर्न सक्छौं, त्यसैले ट्राफीक नियम पालना गरौ,’उनले भने

धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारी सुबेदीले सवारी चालकको लापरबाहीको कारणले सवारी दुर्घटनाको जोखिम बढी रहेको बताइन् । चालक र सह–चालकलाई पोशाक वितरण गरेर सडक सुशासनको कायम गर्ने जिम्मेवार नागरिकको भमिका निर्वाह गर्न आग्रह गरिन् । ‘यो पोशाक लाएपछि म यात्रुहरुलाई कुनै पनि बाहनाबाजी नगरी सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउछु भनेर चालक तथा सहचालकले प्रतिबद्धता जनाउनपर्यो,’कार्यबाहक सुबेदीले भनिन्,‘अनुशासन कायम गर्नको लागि यो पोशाक वितरण गरिएको हो ।’

टेम्पो चालक भिम मगरले चालकहरु त्यसै पनि जिम्मेवार भएर सेवा गरिरहेको अवस्थामा यो पोशाक लाएपछि झनै जिम्मेवारी बोध भएको बताए । ‘पहिला पनि हामी जिम्मेवार नै थियौं,’उनले भने,‘तर यो पोशाक लगाएपछि झनै जिम्मेवार पहिचान थपिएको छ’ । कार्यक्रमअघि धरानमा ट्राफिक प्रहरीसहित नेपाल यातायात्र स्वतन्त्र मजदुर संघ, सरोकारवाला संघसंस्याहरुलगायतको सहकार्यमा करिब ४ सय जनाको संख्यामा प्रभातफेरी समेत निकालिएको थियो ।