वराहक्षेत्र : सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका स्थित चक्रपट्टिमा रहेको वराहक्षेत्र आँखा उपचार केन्द्रबाट मोतिया बिन्दुको शल्यक्रिया शुभारम्भ गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा नगर अस्पतालमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको प्राविधिक सहयोग तथा व्यवस्थापनमा सञ्चालित आँखा उपचार केन्द्रमा बिहीबारबाट निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया आयोजना गरी मोतिया बिन्दुको शल्यक्रियाको शुभारम्भ गरिएको हो ।
नगर प्रमुख रमेश कार्की एव नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा उक्त मोतिया बिन्दुको शल्यक्रिया शुभारम्भ गरिएको थियो । मोतिया बिन्दुको शल्यक्रिया शुभारम्भ कार्यक्रममा नगरपालिकाका उप- प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार विशिष्ट अतिथि रहेकी थिइन् । कार्यक्रममा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान सदस्य श्याम पौडेल, नगर अस्पताल व्यवस्थापन समितिका सदस्य अनु गुरुङ , रत्नबहादुर राउत , वडा नं ७ का अध्यक्ष तथा नगर अस्पताल व्यवस्थापन समितिका सदस्य कपिल आचार्य , वडा नं ८ का अध्यक्ष रोशन खड्का, नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख डाक्टर धनराज यादव , महेन्द्रनगर स्वास्थ्य चौकीका प्रमुख पृथ्वी चन्द्र भगत , वराहक्षेत्र उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र प्रसाद गुप्ता , रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका प्रबन्धक नवीन राजवंशी लगायतको अतिथ्यता रहेको थियो ।
वराहक्षेत्र नगरपालिकाको सहकार्य तथा समन्वयमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँ र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका प्राविधिक सहयोग तथा व्यवस्थापनमा नगर अस्पतालमा सञ्चालित आँखा उपचार केन्द्रबाट अत्याधुनिक उच्च गुणस्तरीय र सर्वसुलभ सेवा सहितको मोतिया विन्दु लगायतको शल्यक्रियाको शुभारम्भ गरिएको नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले बताए । बिहीबार एकै दिन ४० जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ ।
नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा सेवाग्राहीहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आँखाको उपचार सेवा केन्द्र बिस्तार गरिएको र शल्यक्रिया समेत सुरु गरिएको नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष रमेश कार्कीले बताए । भौतिक संरचना निर्माण र जनशक्तिसँगै सेवाहरू बढाउँदै लगिएको नगर प्रमुख कार्कीको भनाई छ । अस्पतालको प्रशासन र व्यवस्थापन सबल पछि भौतिक संरचना ( भवन) र जनशक्ति ( चिकित्सक , स्वास्थ्यकर्मी ) समेत बढाइएको छ ।
हाल दैनिक अस्पतालमा २ सय ७५ देखि ३ सय २५ को संङख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।
२४ सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजोयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।
हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण भएको त्यस्तै सामान्य शल्यक्रियाकालागि भवन पनि निर्माणाधीन रजेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।