धरान: धरानको खानेपानी सम्बन्धी मुद्दालाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि धरान उपमहानगरपालिकाले नगरबासीलाई सर्वसुलभरुपमा सुद्ध पिउने पानी यथासिघ्र उपलब्ध गराउने प्रतिवद्धता जनाएकोछ ।

पिउने पानीका लागि नागरिक पहल तदर्थ समिति र कार्यवाहक मेयर तथा धरान खानेपानी व्यवस्थापन बोर्डकी अध्यक्ष मञ्जु भण्डारी सुवेदीबीच बिहिबार भएको बैठकमा यस्तो प्रतिवद्धता जनाएको हो । बैठकमा उपमहानगरपालिकाले ३ बुँदे लिखित प्रतिवद्धता जनाएको हो । पहिलो लिखित बुँदामा नगरबासीलाई सुद्ध पिउने पानी चाडो उपलब्ध गराउने उपमहानगरको प्रतिवद्धता रहेको छ भने दोस्रो बुँदामा पिउने पानीसम्बन्धमा सेवाग्राहीको गुनासो सुन्न तथा सुझाव संकलन गर्नको लागि यथासिघ्र हेलो सेवा सञ्चालन गर्ने पनि उपमहानगरपालिकाको प्रतिवद्धता छ ।

यसैगरी, खानेपानी व्यवस्थापन बोर्डबाट सञ्चालन हुने पिउने पानी व्यवस्थापनको प्रभावकारी अनुगमन गर्नको लागि यथासिघ्र नागरिक अनुगमन समिति गठन गर्न पनि धरान उपमहानगरपालिकाले प्रतिवद्धता जनाएको छ । हुन त आयोजनाको अनुगमन गर्न यसअघि पनि नागरिक अनुगमन समिति बनेको छ । तर, बैठकमा उक्त अनुगमन समितिले प्रभावकारीरुपमा जिम्मेवारी पुरा नगरेको भन्दै असन्तुष्टी व्यक्त भएको थियो । उच्चस्तरीय अनुगमन समिति गठन गर्ने वा पुर्नगठन गरेर भएपनि जनपक्षीय आवाज उठाउनको लागि एउटा प्रभावकारी नागरिक अनुगमन समिति आवश्यक भएको निष्कर्षसहित बैठकमा गठन गर्ने प्रतिवद्धता उपमहानगरले जनाएको हो ।

water-project1

बैठकमा पहल समितिका संयोजक महेश श्रेष्ठले अब कुनै पनि हालतमा धराने जनतालाई काकाकुल अवस्थाबाट राहत दिलाउनुपर्ने धारणा राखेका थिए । आफूहरुले सर्वसाधारण नागरिकको आवाजलाई सरोकारवाला निकायसम्म पुर्याउने काम गरेको भन्दै उनले अब पनि कुनै वाहानामा आयोजनाको पानी जनताको घरसम्म नपुगे कडा कदम चालिने पनि बताएका थिए । यस्तै, पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले खानेपानीसँगका भ्रमपुर्ण कुराहरुलाई तत्कालै चिर्न आवश्यक भएको बताएका थिए ।

साथै, उनले विगतमा आयोजना ल्याउदा २४ घण्टा र पछि १८ घण्टा निरन्तर पानी धारामा आउने भनिएकोले अब संस्थानले जस्तो एक दिन बिराएर मात्र पानी वितरण गरिदा स्वीकार्य नहुने पनि बताए । ‘हामीलाई १८ घण्टा नै पानी चाहिएको छैन, मात्र दिनमा २ घण्टा पानी आए पर्याप्त हुन्छ,’उनले भने । कार्यवाहक मेयरले आयोजनाको डिजाइनमा ९२ लाख लिटर नयाँ वेलबाट र ६० लाख लिटर संस्थानको पुरानो वेलबाट हुने उत्पादन जोडेर १ करोड ५२ लाख लिटरको डिजाइन भएको प्रष्ट पारिन् ।