यो पंक्तिकारको स्थाई ठेगाना पूर्वी पहाडी जिल्ला तेह्रथुमको फेदाप गाउँपालिका- ४ (साविक सम्दु-७ संगपु ) हो । हुन त कुनै पनि जात वा जातिको पुुर्ख्यौलि थलो, उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । त्यस्तै यो पंक्तिकारको पुुर्ख्यौलि थलो अर्थात् पूर्खाहरुको बसोवास हालको राजनीतिक विभाजन अनुसार एक नम्बर प्रदेश, सोलुखुम्बु जिल्लाको महाकुुलुङ गाउँपालिकाको पेल्माङ/पिल्मोङ क्षेत्र हो । त्यहाँबाट विभिन्न कारणले हाम्रा पूर्खाहरु हालको ठेगानामा गएर बसेको हो ।
लिम्बुहरुले आफ्नै वंश वा भनौं दाजुको सन्तान मानेर बस्नका लागि जमीन (ठाऊँ) दिएका थिए । किनभने, १० लिम्बु र १६ खम्बु दाजुभाई हो भन्ने प्रचलन अझै पनि हटीसकेको छैन ।
यो पंक्तिकारलाई समेत जोड्दा हाम्रो पूर्खाहरु लिम्बुवान भूमिको फेदाप क्षेत्रमा गएर बसेको ७ पुस्ता हुन्छ । पंक्तिकार सानो हुँदा गाउँघरका बाजे-बजु (लिम्बु भाषामा थेबा–युमा र कुलुङ भाषामा फपा-मुमा) हरुले ‘हामी एकै किरातीका सन्तान हौं । तिमीहरु १६ खम्बु (दाजु) र हामीहरु १० लिम्बु (भाइ) हौं’ भन्थे । यो पंक्तिकार सानो छँदा लिम्बु बज्यैहरु मातृभाषामा ‘खम्बेले’ ‘खम्बेले’ भन्दै गफ गर्दा कुलुङेनी बज्यैहरु ‘तिमी लिम्बेले’ ‘तिमी लिम्बेले भनी रिसाउँथे । किनकि हाम्रा कुलुङेनी बज्यैहरुले खम्बुलाई हेपेर त्यसो भनेको अर्थमा बुझ्थे । तर, खासमा ती लिम्बुनी बज्यैहरु मध्ये केहीको माइती ताप्लेजुङ थियो । ताप्लेजुङका लिम्बुहरु त्यसो भएकोले/त्यसो भएको हुँदा भन्ने अर्थमा ‘खम्बेले’ भन्छन् भने फेदापेहरु ‘हेकेल्ले’ भन्छन् । त्यसैले मातृभाषा कुराकानी गर्ने क्रममा ताप्लेजुङ माइती भएकी बज्यै गफगाफ हुँदा जहिल्यै खम्बेले, खम्बेले भन्थिन् । तर, हाम्रो कुलुङेनी बज्यैहरुले भने आफुहरु आउँदा मात्रै आफुहरुलाई होच्याएर खम्बेले, खम्बेले भनेको भन्ठान्थे ।
सुरुमा लिम्बु भाइहरुले खम्बु दाजुहरु (हाम्रा पूर्खाहरु) लाई आफ्रनै दाजुभाइ सम्झेर बस्न दिएको ठाऊँ–जग्गा साविकको सम्दु-५ नम्बर वडाको सदासपुर गाउँ हो । जहाँ सजिलैसँग चारमाना धानको बिऊ रोप्दा एक मुरी धान फल्छ । तर, कुलुङेहरुलाई औल/अहुल नफोपेको र, सिकार गरेर र पासो थापेर जनावर र चराचुरुङ्गी खानुपर्ने भएकोले माथिल्लो भेगमा बस्नका लागि ठाऊँ मागे । जहाँ धान फल्दैन । मकै, कोदो, जौ, आलु, फापर, गहुँ, तोरी, फल्छ । तर, जंगल नजिकै छ । हुन पनि सदासपुरमा चैतमा छरेको मकै साउन नलाग्दै पाक्छ भने माथि फागुन सुरुमै छरेको मकै असोजको मध्य-अन्त्यमा मात्रै पाक्छ । अझ माथि (लेकमा) त कात्तिकमा मात्रै मकै पाक्छ, जुन गाउँ–ठाऊँलाई हाल पैपुङ (लिम्बु भाषामा निभारालाई पएप्पा भनिन्छ । सोही शब्दको परिस्कृत रुप नै हालको पैपुङ हो) भनिन्छ भने साविकको सम्दु -६ नम्बर वडा हो । हुन त अहिले आएर केही लिम्बु मामा (कुलुङ भाषामा कोक्पा) हरु लिम्बुहरु किराती होइनन् पनि भन्दै हुनुहुन्छ । त्यतातिर अहिले बहस नगरौं । त्यसैले गाउँघरका हराउँदै, मासिदै र नासिदै गएको चौतारो, पाटी, पौवा, धर्मशाला आदि हराउदै गएको विषयमा लेख्ने प्रयास गरिएको छ ।
पूर्वी पहाडी जिल्ला तेह्रथुममा (पूर्वका अरु जिल्लाका साथै देशैभरि) हाम्रो पालासम्म चौतारो, पाटी, पौवा, धर्मशाला आदि प्रशस्तै हुन्थे । यो पंक्तिकारकै मावली गाऊँ संगपुमा मात्रै कम्तिमा ७/८ वटा त चौतारो मात्रै थियो त्यस्तै केही पाटी, पौवा वा भानैं धर्मशाला पनि थिए । त्यसमध्ये गोताम चौतारो, पिपली चौतारो आदि अलि नै नाम चलेको चल्तीमा रहेको थियो । तर, अहिले ‘र्याप’ले ल्याइदिएको बाटो (ग्रामिण सडक) सँगै ती चौतारोहरु पनि मासियो । जुन चौतारोहरुमा गाउँलेहरु वस्तु–भाऊ गरेर फर्कँदा, घाँस-दाउरा गरेर फर्कँदा, मेला–पात गरेर फर्कँदा भारी बिसाउँथे । हाक्पारे, पालाम र ख्याली भन्थे । नेपाली भाषा गीत पनि गाउँथे । थकाइ मार्थे । दुःख, सुखका गफ गर्थे । तर, आज कतैकतै बाँकी रहेका त्यस्ता चौतारो, पाटी, पौवा, धर्मशाला पनि अस्तित्वविहीन र संरक्षणविहीन अवस्थामा रहेका छन । ढल्न लागेका छन् । भत्कन लागेका छन् । कतैकतै त अवशेष मात्रै बाँकी देखिन्छ । कतिपय गाउँ-ठाऊँ र नजिकै घर भएका घरपरिवारको नामै पाटी गौं-गाउँ, पौवा-भञ्ज्याङ, पौवा-सरताप, धर्मशाले, चौतारे गाउँ-घर भनी सम्बोधन गरिन्थ्यो । नाम रहेको थियो ।
त्यसरी चौतारो, पाटी, पौवा, धर्मशाला आदि बनाउनुको पनि खास कारण हुन्थ्यो । जसले बनाएको हो, उसको घर–परिवारभित्रको कोही न कोही बिते (मरेको) को हुन्थ्यो । र, ती मरेर जानेलाई चीरकालसम्म सम्झनका लागि विशेषतः चौतारो, पाटी, पौवा, धर्मशाला बनाइन्थे । त्यसरी बनाइएको चौतारोको बीच भागमा शीला लेख लेखिन्थ्यो, जहाँ मरेर जानेको उमेर, नाम, थर, वतन सबैसबै उल्लेख हुन्थ्यो । चौतारोसँगै बर-पीपलको रुख पनि हुन्थ्यो भने सकेसम्म पानीको धारो पनि नजिकै हुन्थ्यो । अथवा यसो भनौं ‘बटुवाहरुका लागि तिर्खा मेट्न पानीको धारो सकेसम्म व्यवस्थापन गरिन्थ्यो ।’ सायद उहिलेका मान्छेहरुमा मरेर जाने आफन्त वा भनौं परिवारजनलाई चीरकालसम्म सम्झने माध्यम नै यही एउटा उपाय थियो । हाम्रो पालासम्म गाउँ-घरमा हिँड्दा-डुल्दा यही देखेका थियौं । तर, आज हिजोको त्यो स्थिति रहेन । के भनिन्छ भने, विकाससँग विकास मात्रै आउँदैन, ऊ सँगसँगै अरु दुई वटा कुरो अनिवार्य आउँछ । ती हुन्, ‘विनास र वकिृति ।’ विकाससँग अरु पनि धेरै कुरो आएको देखिन्छ । त्यतातिर अहिले नजाऊँ ।
पहिलेपहिले कुनै पनि गाउँले वा भनौं बटुवा निश्चित गन्तव्य तोकेर बिहान भालेको डाकमै उठेर हिँड्ने गरिन्थ्यो । हिँड्नु अघि जे-जति रुचेको घरैमा खाइन्थ्यो । बाँकी खाजा (चाम्रे) वा भुटेको भात बोकेर हिँडिन्थ्यो । जो कोही बटुवाले डाँडा काटेर र खोला तरेर जान्थे । डाँडाहरु जंगलको बीचमा पनि हुन्थ्यो/हुन्छ । नाँगी (नांगो) डाँडा पनि हुन्थ्यो । जे होस्, बटुवाले एक गाउँठाउँ काटेर अर्को गाउँठाउँ लाग्ने (डाँडा) ठाउँलाई ‘देउराली’ भनिन्थ्यो । ‘देउराली’ प्रायः डाँडोमा नै हुन्छ/हुन्थ्यो । यसरी देउरालीमा पुगेपछि प्रायः सबै बटुवाहरुले पाती चढाउँथे । कसैकसैले पातीसँगै रंगीचंगी ध्वजा पनि चढाउँथे । चौतारोसँगै फलैँचा, पाटी, धर्मशाला ढुंगेधारा वा कुवा हुन्थ्यो । देउरालीमा प्रायः टाढा-टाढाका बटुवाहरुले खाजा खान्थे । तम्बाकु-सुर्ती खान्थे । त्यसरी खाजा, तम्बाकु र सुर्ती नै नखाए तापनि पाती अनिवार्य चढाउँथे, केही क्षण थकाइ मार्थे, आराम गर्थे र, फेरि आफ्नो बाटो तताउँथे ।
नजिक गाउँ वा घर भएका मान्छेहरु पनि घाँस-दाउरा, फत्पर, मेला-पात गर्ने क्रममा बिहानी होस्, वा बेलुकी अथवा दिउँसोको मध्य घाममा नै किन नहोस्, एकछिन भए पनि बिसाएर थकाइ मार्थे । आराम गर्थे । साथमा दुःखसुखका कुरो पनि गर्थे नै । यसरी लामो यात्रामा निक्लेका टाढा–टाढाका बटुवाहरुदेखि लिएर नजिकैका गाउँलेहरुका लागि पनि चौतारो, पाटी, पौवा, धर्मशाला आदि थकाइ मार्ने गर्थे । त्यति मात्रै होइन, कतिपय टाढाका बटुवाहरुका लागि बास बस्ने/रात बिताउँने ठाउँ पनि यस्तै चौतारो, पाटी, पौवा, फलैँचा, धर्मशाला नै हुन्थ्यो । चौतारो, पाटी, पौवा, फलैँचा, धर्मशाला आदि नभएको ठाउँमा ठूलो रुखको फेद, ओढार, गोठ आदिमा पनि बटुवाहरुले रात बिताउँथे ।
आजभोलि विकासको लहरसँगै गाउँगाउँमा आएको भ्याक्कु (सडक खन्न आएको डोजर) ले अधिकांश चौतारो, पाटी, पौवा, फलौचा, धर्मशाला आदि र चौतारीमा रोपिएको/हुर्किएको बर-पीपलको रुखको समेत अस्तित्व नामेट पारिसकिएको छ । हुन पनि मान्छेहरु कम्तिमा दुई-तीन दिनदेखि हप्ता-दश दिनसम्म हिँड्थे । तर, अहिले त हिँडेर जाँदा एक–दुई घण्टा लाग्ने ठाउँमा पनि ४-५ घण्टासम्म पर्खेरै भए पनि मान्छेहरु गाडीमै चढेर जान्छन् ।
जे होस्, ऊ बेला हाम्रा पिता/पूर्खा वा भनौं जिजु-बराजुहरुले मान्छे हिंड्ने बाटोघाटोमा बनाई दिएका ती चौतारो, पाटी-पौवा, फलैँचा, धर्मशाला आदिमा हामीले राम्रोसँग ख्याल गरेर हेर्यौं र पढ्दा के देख्छौं भने, ती बर–पिपलको फेदमा रहेका/बनाइएका चौतारो अनि पाटी, पौवा, फलैँचा र धर्मशालाहरुमा त्यसरी चौतारो, पाटी, पौवा, धर्मशाला आदि बनाउनेहरुले स्वर्गीय भैसकेका आफन्तहरुको नाम, वतन, जन्मेको मिति, मृत्यु भएको मिति लगायतका कुरोहरु मात्रै नलेखेर एक परिवारको वंशावली नै लेखिएको हुन्थ्यो । साथमा रैथाने कला र इतिहास पनि संरक्षयण गरिएको हुन्थ्यो ।