धरान: धरानमा फेरि डेंगु ज्वरोका विरामी भेटिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डेंगुका ३ जना विरामीको उपचार भइरहेको छ ।

तीनै जना बालबालिका छन् । उनीहरु एउटै वडा धरान उपहानगरपालिका वडा नं १५ का हुन् । तीन जनामध्ये एक १४ बर्षीय बालिका बगरकोटका हुन् भने १० बर्ष र ७ बर्षका २ जना बालक पुष्पलाल मार्ग क्षेत्रका हुन् । एक्कासी ज्वरो, पेट दुख्नेलगायत समस्या भएपछि उपचार गराउन प्रतिष्ठान लैजादा आवश्यक जाँचको क्रममा उनीहरुलाई डेंगु भएको पुष्टि भएको थियो । तीन जनामध्ये १० र ७ बर्षको बालकमा डेंगु भएको रिपोर्ट आइसकेको छ भने १४ बर्षीय बालिकामा डेंगु भएको रिपोर्ट नआएपनि सबै लक्षण डेंगु ज्वरोकै भएकोले डेंगुकै उपचार भइरहेको छ ।

वीपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहका अनुसार तीनै जनाको पेडियाट्रि वार्डमा उपचार भइरहेको छ । डेंगुको उपचार लक्षणको आधारमा र रगतमा प्लेटलेस(खुन जमाउन चाहिने कोषिका)को अत्यधिक कमी भएपछि उपचार शुरु गरिने उनले बताए । ‘रिपोर्ट पोजेटिभ आए पनि नआएपनि डेंगुको लक्षण देखियो, र प्लेटलेस कमी भयो भने उपचार गरिनेहो,’डा.साहले भने,‘रगतमा प्लेटलेसको संख्या डेढ लाखदेखि ३ लाखसम्म हुनुपर्छ, तर डेंगु हुदा २०, ३० हजारमा झर्छ, र रगत दिइरहनुपर्छ ।’
गत कार्तिक महिनामा पनि धरानमा विभिन्न वडामा डेंगुका आधा दर्जन बढी विरामीहरु भेटिएका थिए । त्यसपछि धरान उपमहानगरपालिकाले प्रभावित क्षेत्रसँगै धरान भरि नै डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्न अभियान चलाएको थियो । उपमहानगरले फगिङसँगै लार्भा नष्ट गर्ने कार्ययोजना बनाएर अभियान चलाएको थियो ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य संयोजक घनश्याम सिग्देलले डेंगुका विरामी भेटिए पुनः टिमसँग सल्लाह गरेर आवश्यक कदम चाल्ने बताए । डेंगु मच्छडको अण्डा बषौंसम्म पनि रहिरहने र पानी परेपछि मच्छड बन्ने भएकोले अफ सिजन भएर पनि अहिले डेंगु भएको हुनसक्ने उनले बताए । ‘सामान्यत साउन भदौं पछि कार्तिक, मंसिरतिर प्रकोप हुन्छ । अहिले पानी परेर अण्डाबाट मच्छड निस्केर डेंगु भएको हुनसक्छ,’उनले भने,‘फगिङ गर्ने मात्र स्थायी समाधान होइन, लार्भा नष्ट गर्नु मात्र स्थायी समाधान हो । यसको लागि सबैमा स्वास्थ्य शिक्षा पुग्नुपर्छ । घर, आँगनमा पानी जम्मा हुने भाडा वा कुनै पनि सामाग्री रहन दिनुहुदैन । पानीको टंकी पनि बेला बेला सफा गर्नुपर्छ ।’

डेंगु संक्रमण हुनबाट बच्ने उपाय

एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट डेंगु ज्वरो मानिमा सर्ने गर्छ । यो लामखुट्टेले दिउँसो मात्र टोकेर डेंगु सार्ने भएकोले दिनमा आवश्यक सर्तकता अपनाउनुपर्ने चिकित्सकहरुको भनाइ छ । एडिस लामखुट्टे सफा पानीमा बस्ने भएकोले आफ्नो घर वरीपरी पानी जम्ने खालको कुनै पनि सामानहरु राख्न नहुने डेंगु रोगको अध्ययन गरिरहेको बिपी प्रतिष्ठान धरानका एडिस्नल प्रोफेसर डा.नारायण भटराईको सुझाव छ । यस्तै, लामो बाहुला भएको कपडा लगाउने, लामखुट्टे भगाउन क्रिम दल्ने, घर वरीपरी फालेको खाली बट्टा, फुटेको कप, टायर, बोतलहरुमा पनि पानी जम्न दिन नहुने डा. भटराईले बताए ।

डेंगु ज्वरोको मुख्य लक्षणहरु

डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । ज्वरोको साथसाथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा विमिरा आउने र रक्तस्राव हुने पनि लक्षण देखिन्छ । यस्तै जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने पनि हुन्छ ।
चिकित्सकहरुका अनुसार ज्वरो आउनुका साथै २ भन्दा बढी लक्षणहरु देखापरेमा डेंगु ज्वरो भएको हुनसक्छ । यसबाहेक वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का(निलडाम) देखापर्ने, बेहोस हुने लगायत लक्षणहरु पनि देखापर्न सक्छ । यस्ता लक्ष्मणहरु देखा परेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन जान चिकित्सकहरुको सुझाव छ ।