आजदेखि हामी दोस्रो बर्षमा प्रवेश गरेका छौं । यो अवसरमा हाम्रा नियमित पाठक, शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दछौं । प्रविधि र इन्टरनेटमा आम मानिसहरुको पहुँच बढ्दै गएपछि अनलाइन मिडियाहरुलाई थुप्रै चुनौतीहरु छन् । अनलाइन पोर्टलहरुको बाढी छ । त्यसैले पाठकहरुमाझ तथ्य, सत्य समाचार पस्किएर विश्वास जित्नसक्नु नै हाम्रो लागि पनि ठुलो चुनौती थियो । यो एक बर्षको दौरानमा हामी हरसम्भव पाठक तथा शुभचिन्तकहरुको विश्वास र भरोसालाई जित्ने प्रयास गर्यौं ।

हिजोआज आम मानिसको दैनिकी फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा बित्ने गरेको छ । मानिसले हरेकजसो सुचनाहरु सामाजिक सञ्जालहरुबाटै आदनप्रदान गर्छन् । सामाजिक सञ्जालको प्रयोगमा विकृति मात्र छैन, सुचनाको भरपर्दाे माध्यम पनि भएको छ । साथै, नागरिक पत्रकारिता(सिटिजन जर्नालिज्म)को अवधारणा पनि विकास भएको छ । नागरिक पत्रकारिताकै कारण पत्रकारहरुलाई 'ब्रेकिङ न्यूज' वा 'स्कुप न्यूज' पस्किन चुनौती छ । चाहे कुनै घटना, दुर्घटना होस वा गतिलो समाचार बन्नसक्ने 'इस्यु' नै किन नहोस्, एक सचेत एवं जिम्मेवार नागरिकले समाजिक सञ्जालबाट नै ‘ब्रेकिङ’ गर्न थालेका छन् ।

अब अनलाइन मिडियाले मात्र होइन, समग्र पत्रकारिताले नै आफुलाई थप परिस्कृत गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । पाठकहरुलाई पस्किने खुराक भरपर्दो, विश्वसनीय र तथ्यमा आधारित हुनजरुरी छ । पाठकले 'ब्रेकिङ' भन्दा पनि निष्पक्ष, तथ्यमा आधारित सत्य एवं यथार्थ कुरा चाहन्छन् । तब मात्र समग्र पत्रकारिताप्रति आम जनताको विश्वास वलियो हुन्छ । हामी त्यही विश्वास जित्न प्रयत्नशिल छौं ।

मुलुक नयाँ संघीय संरचना प्रवेश गरेर ३ तहको सरकार बनेको छ । मिडिया/प्रेस सरकारको स्थायी प्रतिपक्षी हो । जनताले तिरेको करबाट तलब लिने जनप्रतिनिधिहरु जनताप्रति उत्तरदायी छन् कि छैनन् ? निष्पक्ष भएर खबरदारी गर्ने जिम्मेवारी पत्रकारिताको हो । स्थानीय एवं जनचासोका बिषयहरुलाई प्राथमिकता दिइरहेका छौं, र भविष्यमा पनि दिनेनै छौं । व्यवसायिक पत्रकारिताको मर्मलाई आत्मसात गर्दै सबैको आवाजलाई समेट्न कोसिस गर्नेछौं । आम नागरिकले सतही भन्दा पनि सही, तथ्यमा आधारित सत्य खबर पाउनुपर्छ भन्ने मान्यताबाट हामी अघिबढीरहनेछौं ।