धरान: नियन्त्रणमा आउन नसकेको डेंगु रोगको अवस्था धरानमा भयावह हुनसक्ने देखिएको छ । पछिल्लो पटक डेंगु देखापरेको १९ दिनमा नै ६० जनामा डेंगु रोग भएको पुष्टि अस्पतालले गरिसकेकोछ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले शुक्रबार पत्रकार सम्मेलन गर्दै ११४ जनामा टेष्ट गर्दा ६० जनामा डेंगु भएको तथ्यांक सार्वजनिक गरेको छ । साथै, डेंगु भयावह हुनसक्ने देखिएको भन्दै र्यापिड रेस्पोन्ट टिम पनि गठन गरेको अस्पताल निर्देशन डा.गौरीशंकर साहले जानकारी दिए । यो टिममा प्रतिष्ठानका बिशेषज्ञ चिकित्सकसँगै उपमहानगरपालिकाको स्वास्थ्यका कर्मचारी पनि समेटिएका छन् । ‘डेंगुको प्रकोपबारे हामी गम्भीर छौं, त्यसैले नियन्त्रणको लागि सक्दो सहकार्य र प्रयास गरिरहेका छौं,’अस्पताल निर्देशक डा.साहले भने ।

प्रतिष्ठानकी माइक्रोवायोलोजी विभागीय प्रमुख प्रा.डा.वशुधा खनालका अनुसार ११४ जनामा जाँच हुदा ६० जनामा डेंगु पुष्टि भएको छ । मे १२ देखि ३१ सम्मको बीचमा यो संख्या भेटिएको हो । हालसम्म र्यापिड टेष्ट मात्र भएकोले डेंगु भएको पुष्टि भएपनि कुन टाइपको डेंगु हो भन्नेर प्रष्ट भने नभएको उनले बताइन् । कुन टाइप हो भन्ने थाह पाउन सिरोटाइपिङ गर्नुपर्छ । ‘अहिलेसम्म १९ दिनमै ६० जनामा देखियो, अझै अस्पतालसम्म नआइपुगेको धेरै होलान्,’उनले भनिन्,‘रोग प्रतिरोध क्षमता वलियो भएको व्यक्ति अस्पतालसम्म आउदैनन्, संख्या अझै धेरै हुनसक्छ ।’

धरानमा भेटिएका ६० जना डेंगु विरामीहरुमा ६ बर्षकादेखि ६१ बर्षका वृद्धसम्मलाई डेगु ज्वरो भएको भेटिएको छ । मनसुन पछि डेंगु देखिनुपर्ने भएपनि यो बर्ष छिटो देखा परेको उनले बताइन् । पानी परेको र गर्मी पनि अत्यधिक बढेको कारण डेंगु फैलिएको हुनसक्ने डा.खनालले बताइन् । ‘डेंगु संक्रमित मच्छडले अण्डा परिराखेको हुन्छ, त्यसमा पानी परेर र गर्मी बढेपछि लार्भा भएर मच्छड हुने र मान्छेलाई टोकेर संक्रमित भएको हुनसक्छ,’उनले भनिन् ।

'फगिङ'ले मात्र नियन्त्रण हुदैन

dengue-birudha

वीपी प्रतिष्ठानका विज्ञ एवं चिकित्सकहरुले फगिङले मात्र डेंगु नियन्त्रण हुन नसक्ने बताएका छन् । उनीहरुले डेंगु संक्रमित मच्छडले पारेको अण्डा र लार्भा नष्ट गर्ने अभियान मात्र प्रभावकारी हुने सुझाव दिएका छन् । यसको लागि समुदायस्तरमा नै लार्भा र अण्डा नष्ट गर्ने अभियानको थालनी गर्नुपर्ने सुझाव र्यापिड रेस्पोन्ट टिमका संयोजक डा.विजयकुमार खनालले बताए । ‘हामी आजदेखि त्यही अभियान शुरु गरेका छौं, वडामा गएर अण्डा र लार्भालाई कसरी नष्ट गर्ने, कहाँ कहाँ हुनसक्छ भनेर जनचेतना फैलाउछौं, सिकाउछौं,’उनले भने,‘फगिङले वयस्कलाई मात्र मार्छ, अण्डा र लार्भा पुर्णरुपमा नष्ट नभएसम्म नियन्त्रण गर्न गाह्रो छ ।’

यद्यपी, उनले फगिङ मेशिन डेंगुको लागि मात्र नभएर मच्छडबाट सार्ने अन्य रोगहरु नियन्त्रणको लागि पनि उपयोगी हुने बताए । ‘मच्चडबाट मलेरिया, जापानिज इन्सेफ्लाइटिस जस्ता रोग हुन्छ, त्योबाट जोगिन पनि मच्छड मार्नुपर्छ । फगिङ मेशिन उपयोगी नै हुन्छ,’उनले भनिन् । एकीकृत व्यवस्थापन गरेर मात्र नियन्त्रण सम्भव भएकैले टिम बनेको र अभियान थाल्ने उनले बताए ।