इटहरी : दुखेँ आज साँच्चै, पुराना कुराले । रहर रोज्न थाले, फुटेका चुराले । नआए  हुनेथ्यो, कुनै चाडपर्व, बुबा खोज्न थाले, कठै यी भुराले ।

इटहरीमा रहेर गजल सँगै कविता क्षेत्रमा पनि अब्बल रुपमा स्थापित भएकी साहित्यकार टीका आत्रेयको गजलसंग्रह युगको सङ्घार भित्रका यी पंक्ति शनिबार सुनाईरहँदा हलमा परररर ताली बज्यो ।
शिखा बुक्सले प्रकाशनमा ल्याएको उक्त कृति शनिबार इटहरीमा बरिष्ठ कवि कुन्ता शर्मा, प्रा. डा बद्री विशाल पोखरेल, मनु मञ्जिल, मधु पोखरेल लगायतका श्रष्टाहरुले लोकार्पण गरे । साहित्य सञ्चार प्रतिष्ठान इटहरीले आयोजना गरेको उक्त लोकार्पण कार्यक्रममा शुभकामना मंतब्य राख्दै प्रा.डा बद्रीबिशाल पोखरेलले साहित्य लेख्दा मनको मैलो हट्ने बताए । उनले साहित्यमा अनुभूती र कल्पनाले आनन्द दिने बताउँदै यसबाट मनको मैलो हट्ने बताए ।
कार्यक्रममा घनेन्द्र ओझाले बोल्दै गजलको शास्त्रीय मान्यता फरक रहेको बताए । उनले भने, ‘अहिले सबैभन्दा ठूलो विवाद गजलमै रहेको छ, गजलको छन्द र लयमा व्यापक विवाद छ । नेपालमा लेखिएका ९८ प्रतिशत गजल नै होईनन्, त्यो मैले भनेर हुने होईन शास्त्रमा छ ।’ उनले गजल लेख्नु जोक नभएको तर्क गरे । कार्यत्रमmमा डा. रामजी तिम्सिना र सीमा आभासले गजलको बारेमा टिप्पणी गरेका थिए । उनीहरुले टिप्पणी गर्दै उक्त कृतिमा काव्यिक विम्ब रहेको बताए । ‘यो कृतिमा काव्यिक चेत उच्च रहेको छ, डा. रामजी तिम्सिनाले भने, ‘साहित्य कल्पना र अनुभूतिमा गएर लेख्नुपर्ने विधा हो ।’  आत्रेयको यसअघि ‘मनको क्षितीज’ नामक गजल संग्रह प्रकाशित रहेको छ ।

2

किन फूलको धारले, रेट्छ मलाई ।
जूनकै अनुहारले, रेट्छ मलाई ।
म पानी भएर, बगेकै छु आज,
किनारै किनारले, रेट्छ मलाई ।

गजलकार आत्रेयले माथिका गजलका पंक्ति हलमा सुनाईरहँदा हलमा वाहवाही आयो । इटहरीको जनता बहुमुखी क्याम्पसमा अध्यापन पेशामा रहेकी उनी इटहरीमा रहेर साहित्य क्षेत्रमा एक दशक अगाडिबाट कलम चलाउँदै आएकी छिन् । साहित्य क्षेत्रमा क्रियाशिल रहनका लागि आफ्ना श्रीमान टोलानाथ काफ्लेबाट सहयोग भएको बताउँदै उनले आगामी दिनमा पनि निरन्तर साहित्य लेखनमा अग्रसर रहने उनले बताईन् ।
कार्यक्रममा विभिन्न ठाउँबाट आएका कवि, साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।