धरान:धरानको हरेक जसो घरमा डेंगुको अण्डा र लार्भा भेटिएका छ । प्रकोप नियन्त्रणबाहिर भएपनि गठन भएको र्यापिड रेस्पोन्स टिम घर तथा होटलहरुमा पुग्दा डेंगुको अण्डा र लार्भा भेटिएको हो ।

डेंगु नियन्त्रण गर्न फगिङ गरिए पनि प्रभावकारी नभएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ चिकित्सक र उपमहानगरपालिकाको स्वास्थ्य शाखाबीच समन्वय गरेर र्यापिड रेस्पोन्स टिम गठन भएको थियो । सोही टिमले डेंगुको अण्डा र लार्भा नै नष्ट गर्न शुक्रबारदेखि नै वडास्तरमा जनचेतनामुलक अभियान लिएर पुग्दा हरेक जसो घरमा डेंगुको अण्डा र लार्भा भेटिएको हो । धरानमा खानोपानीको चरम अभाव छ । सोही कारण होटल, घर र स्कुलहरुमा पानी संकलन गरेर राख्ने गरिन्छ । धेरै दिनसम्म रहने त्यही पानीमा डेंगु संक्रमित मच्छडले अण्डा परेको हुन्छ । डेंगुको अण्डा र लार्भा नष्ट नगरेसम्म डेंगुको प्रकोप नियन्त्रणमा नआउने चिकित्सकहरुले बताउदै आएका छन् । पछिल्लो समय २० दिनमा धरानमा ७३ भन्दा बढी डेंगु विरामी भेटिएका छन् ।

dengue-mas1

शुक्रबार र शनिबार रेस्पोन्स टिमले धरानको वडा नं ५, १४, १ र १५ मा अभियान गरेको थियो । सो क्रममा डेंगुको अण्डा, लार्भा र प्युँपा करोडौंको संख्यामा भेटेको जनाएको छ । साथै, वयस्क डेंगु संक्रमित मच्छडसमेत भेटिएको रेस्पोन्स टिमले जनाएको छ । बिहान वडा नं १४ मा गएको टोलीले टोल विकास संस्था, जनप्रतिनिधि र अगुवाहरुलाई डंगुको बासस्थान पहिचान गर्ने, अण्डा र लार्भा नष्ट गर्ने तरिका सिकाएका थिए भने स्लथगतरुपमा पनि सर्च एण्ड डिस्ट्रोय अभियान गरेका थिए । त्यसक्रममा विजयपुर चोकमा नै होटलमा प्रयोग गर्न राखिएको पानीमा लार्भा मात्र होइन, डेंगु संक्रमित मच्छड नै भेटिउको थियो । ‘वडा १४ मा, १ र १५ मा हामीले सर्च एण्ड डिष्ट्रोय अभियान चलायौं, ती ठाउँमा अण्डा र लार्भा कति भेटियो कति । करोडौंको संख्यामा थियो,’रेस्पोन्स टिमका सदस्य एवं वीपी प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले भने,‘३ वटै वडामा डेंगु मच्छड नै पनि भेटियो ।’ धरान १५ स्थित स्वीमिङ पुलको पानीमा पनि अण्डा र लार्भा भेटिएकोले पानी हटाएर केही दिन सुख्खा राख्न पनि आग्रह गरिएको र्यापिड टिमले जानकारी दिएको छ ।

अहिलेसम्म ५ जना डेंगुका विरामी भेटिइसकेका वडा १५ स्थित पुष्पलाल मार्गमा पनि शनिबार र्यापिड रेस्पोन्स टिमका सदस्य राईको नेतृत्वमा सर्च एण्ड डिस्ट्रोय अभियान चलेको थियो । त्यसक्रममा करिब ५० घरमा सर्च गर्दा एउटा बाहेक सबै घरमा अण्डा र लार्भा भेटिएको उनले बताए । ‘पुष्पलाल मार्गमा ५० घरजति पुग्यौ,एउटा बाहेक सबै घरमा लार्भा, प्युँपा थियो । हामीले घरघरमा नै डेंगु पालेर बसेका रहेछौं ।’ धरानमा खानेपानीको चरम अभाव भएकोले प्रत्येक घरमा ड्रम वा टंकीमा पानी जम्मा गरेर राख्ने चलन छ । त्यसरी जम्मा गरिएको पानी नै डेंगु संक्रमित मच्छडको सुरक्षित बासस्थान भइरहेको चिकित्सकहरुको भनाई छ ।

dengue1

डेंगु संक्रमित मच्छडले सफा पानीमा नै अण्डा पार्ने भएकोले हरेक घरमा डेंगुको अण्डा र लार्भा भएकोले फगिङले मात्र नियन्त्रणमा आउन नसक्ने धरान उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । फगिङले वयस्क मच्छड मात्र मार्ने भएकोले लार्भा र अण्डा नष्ट नगरेसम्म डेंगु नियन्त्रणमा नआउने उनले बताए । ‘जबसम्म हरेक घरमा पानी जम्मा गरेर खुला तरिकाले राखिएको हुन्छ, डेंगुको अण्डा र लार्भा त्यही हुन्छ । त्यो पानी पोखाएर सुख्खा नबनाएसम्म डेंगु नियन्त्रणमा आउन गाह्रो छ,’यादवले भने,‘पानी जम्मा गरेर राख्नु भएन, राख्ने हो भने पनि एकदमै बिक्र्रो वलियो गरेर वा छोपेर राख्नुपर्छ ।’

dengue2