धरान: डेंगु ज्वरोको प्रकोप नियन्त्रण हुनुको साटो काबु बाहिर हुदै गएपछि स्थानीय सरकारले प्रदेश र संघीय सरकारसँग सहयोग मागेको छ ।

विज्ञ चिकित्सकहरुले भने लामखुट्टेको लार्भा नष्ट गर्न जनप्रतिनिधि र जनपरिचालनमा ढिलाई भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । डेंगुको प्रकोप नियन्त्रणमा गर्न स्थानीयस्तरमा प्रयास गरेपनि सम्भव नदेखिएपछि धरान उपमहानगरपालिकाले प्रदेश र संघीय सरकारलाई पत्राचार गर्दै सहयोग मागेको हो । धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले डेंगुको प्रकोप काबुबाहिर हुदै गएकोले प्रदेश र संघीय सरकारका मन्त्रालयसँग सहकार्य र सहयोगको लागि पत्राचार गरेको बताइन् ।

धरानमा पछिल्लो ३ सातामा ७५ जनाको हाराहारीमा डेंगुका विरामी भेटिएको पुष्टि भइसकेको छ । रोगसँग लड्ने क्षमता भएकाहरु त अस्पतालसम्म आइनपुग्ने भएकोले संख्या थुप्रै हुनसक्ने चिकित्सकहरु बताउँछन् । डेंगु प्रकोप बढेपछि प्रभावित क्षेत्रमा नियमित फगिङ गर्ने काम भइरहेको छ भने वीपी प्रतिष्ठानको विज्ञ चिकित्सक, कर्मचारी र उपमहानगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त र्यापिड रेस्पोन्स टिमसमेत गठन भएको छ । तर, डेंगु नियन्त्रणमा आउन सकेको छैन । डेंगु संक्रमित पोथी मच्छडबाट मानिसमा संक्रमण हुने यो रोगलाई पुर्णरुपमा नियन्त्रणमा ल्याउन लामखुट्टेको अण्डा र लार्भालाई नै नष्ट गर्नुपर्ने विज्ञ चिकित्सकहरुको सुझाव छ ।

र्यापिड रेस्पोन्स टिमको आइतबार बसेको बैठकले पनि डेंगु विरामीको संख्या बढ्दै गएकोप्रति उपचारमा सहज व्यवस्थापनको लागि वीपी प्रतिष्ठान र रोग नियन्त्रण महाशाखालाई आग्रह गर्ने निर्णय गरेको छ । बैठक लगत्तै टिमले प्रतिष्ठानको अस्पताल निर्देशक डा.गौरीशंकर साहलाई भेटेर विरामीको चापलाई मध्यनजर गर्दै उपचार व्यवस्था सहज बनाउन आग्रह गरेको छ ।

अपेक्षा अनुसार जनप्रतिनिधि परिचालित भएनन्:रेस्पोन्स टिम

dengue1

जनप्रतिनिधिहरु अपेक्षा अनुसार नियन्त्रणमा परिचालित नभएको र्यापिड रेस्पोन्स टिमको गुनासो छ । गएको बिहिबार नगर विपद् व्यवस्थापन समितिको बैठकमा सिडिओसहित सरोकारवालाहरु पनि सहभागी थिए । उक्त बैठकले ‘प्रत्येक वडामा टोल विकास संस्था, अगुवा कार्यकर्ता, सामाजिक कार्यकर्ता, राजनैतिक कार्यकर्ता, महिला स्वास्थ्य सेविका र जनप्रतिनिधिहरुको बैठक बोलााएर प्राविधिक एवं विशेषज्ञबाट प्रशिक्षण गराएर चेतना अभिवृद्धि गराउने घरदैलो अभियान गर्ने निर्णय’समेत भएको थियो । यो निर्णय कार्यान्वयन गर्नमा ढिलाई भइरहेको छ ।

वडा कार्यालयले भेला गराएपछि विज्ञ टोली गएर मच्छडको बासस्थान पत्ता लगाउने र अण्डा, लार्भा नष्ट गर्ने विधि सिकाउने योजना अनुसार र्यापिड रेस्पोन्स टिम गठन भएको हो । अहिलेसम्म वडा ५, १४,१० र १ मा मात्र भेला भएर विज्ञहरुले प्रशिक्षण गराएका छन् । ती मध्ये वडा ५, १ र १४ मा डेंगु संक्रमित विरामी भेटिएका छैनन् । सबैभन्दा बढी डेंगुका विरामी भेटिएको १५ नम्बर वडामा एक पटक मात्र भेला भएको छ । डेंगुका विरामी भेटिएका वडाहरुमा भेला र अभियान चलाउन ढिलाई भइरहेको र्यापिड रेस्पोन्स टिमका संयोजक डा. खनालले बताए । ‘हामीले कम गरिरहेकै छौं । मच्छडको अण्डा र लार्भा नष्ट गर्ने अभियानलाई वृहतरुपमा वडा र टोल टोलमा चलाउनुपर्छ, यसको लागि जनप्रतिनिधिहरु जसरी परिचालित हुनुपर्ने हो,त्यो भइरहेको छैन,’डा.खनालले भने,‘जुन वडामा छिटो अभियान हुनुपर्ने थियो, त्यहाँ कार्यक्रम भइरहेको छैन । एउटा पनि केस नभएको वडामा चै भइरहेको छ ।’