धरान:धरानमा डेंगुको प्रकोप नियन्त्रण बाहिर भएकोले धरानबासीहरु मात्र होइन, संघीय सरकारको स्वास्थ्य मन्त्रालयसमेत चिन्तित छ । मनसुन पछि मात्र देखिनुपर्ने डेंगु ज्वरो प्रि मनुसनमा नै देखिएपछि चिन्ताको बिषय हो ।

स्वास्थ्य विभाग र मन्त्रालय चिन्तामा पर्नुको कारण के हो भने मनसुन शुरु हुनुअगावै धरानमा डेंगुको प्रकोप फैलनु हो । अहिल्यै यसलाई पुर्णरुपमा नियन्त्रण गर्न नसकिए वा लामखुट्टेको अण्डा, लार्भालाई नष्ट नगरिए मनसुन पछि झन् विकराल रुप लिनसक्ने भएकोले स्वास्थ्यकर्मी, विभाग र मन्त्रालयको चिन्ता बढेको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पछिल्लो तथ्यांक नै हेरौ न । बीपी प्रतिष्ठानमा बैशाख ३१ गतेदेखि जेठ २० गतेसम्म ३ सय ५६ जनामा परीक्षण गरिएको थियो । ती मध्ये १ सय २३ जनामा डेंगु ज्वरो पोजेटिभ देखिएको असिस्टेण्ड डाइरेक्टर डा.विकास साहले जानकारी दिए ।

प्रशासनका अनुसार बैशाख ३१ गते १ जनामा डेंगु देखिएको थियो भने जेठ ३ गते १ जना, जेठ ६ गते ५ जना, जेठ ७ गते ३ जना, ८ गते १ जना, ९ गते ७ जना, १० गते ७ जनामा डेंगु पोजेटिभ देखिएको थियो । त्यसैगरि, जेठ ११ गते १ जना, १२ गते १३ जना, १३ गते ७ जना, १४ गते ५ जना, १५ गते ३ जना, १६ गते ९ जना, १७ गते १२ जना, १८ गते ५ जनामा देखिएको डेंगु १९ गते २६ जनामा र २० गते १७ जनामा पोजेटिभ देखिएको थियो । प्रतिष्ठानबाहेक विजयपुर हस्पिटलमा पनि जेठ २० गतेसम्म २५ मा डेंगु पोजेटिम देखिएको उक्त हस्पिटलका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए ।

अन्तिम र प्रभावकारी विकल्पः जनपरिचालन

dengue1

चिकित्सकहरुले डेंगु पुर्ण नियन्त्रणको लागि लामखुट्टेको अण्डा, लार्भा र प्यूपालाई पुर्णरुपमा नष्ट गर्नु नै प्रभावकारी र अन्तिम विकल्प भएको सुझाएका छन् । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका शाखा प्रमुख डा.समीरकुमार अधिकारी धरान आएर गरेको छलफलमा यस्तो सुझाव दिएका हुन् । उनीहरुले लामखुट्टेको जीवन चक्रलाई नष्ट गर्नुपर्ने बताएका छन् । घर, आगनमा फुटेको गिलास, बोतल वा टायरहरुमा पनि पानी जम्मा भएर लामखुट्टेले अण्डा पार्ने भएकोले बिशेष ध्यान दिन डा.अधिकारीले आग्रह गरे ।

यो टोलीले कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी र वीपी प्रतिष्ठानका पदाधिकारी तथा रेस्पोन्स टिमसँगको छलफलमा वृहतरुपमा जनपरिचालन गरेर जनचेतना फैलाउने र लामखुट्टेको बासस्थापन पत्ता लगाएर अण्डा, लार्भा नष्ट गर्नु नै सबैभन्दा प्रभावकारी र अन्तिम विकल्प भएको निष्कर्ष निकालेको थियो । ‘हामीले हरेक वडामा १० देखि १५ जनाको टोली तयार गरेर सबैभन्दा पहिला प्रभावित वडाहरुमा परिचालन गर्नुपर्छ, रेस्पोन्स टिमले विज्ञ उपलब्ध गराउछौं भनेर सुझाव दिएका छौं,’र्यापिड रेस्पोन्स टिमका सदस्य एवं वीपी प्रतिष्ठानको सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक महेश्वर राईले भने,‘कुनै पनि घर नछोडि जम्मा भएको पानी नष्ट गर्नुपर्छ भन्यौं । जनपरिचालनमा ढिलाई भइरहेको छ भन्ने कुरा पनि राख्यौं ।’ रेस्पोन्स टिमले स्कुल, कलेज र होटल सञ्चालकहरुलाई पनि चाडो भेला पारेर अभियानमा सहभागि गराउन सुझाव दिएको छ ।