धरान : सञ्चारकर्मी दिलबहादुर राईमाथि आक्रमण भएकै राती मंगलबार धरानमा अर्को छुरा प्रहारको घटना भएको पनि खुलेको छ ।

धरान १० स्थित सब्जी बजार नजिकै चौरीमा आफ्नै साथीबीचमा विवाद हुदा छुरा प्रहार भएको हो । छुरा प्रहारबाट घाइते भएका धरान १० का २१ बर्षीय सन्दीप राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । राती करिब साढे ७ बजेको समयमा उनीमाथि छुरा प्रहार भएको हो । उनको छातीको दाहिने भागमा गहिरो चोट लागेको छ । भित्री अंगमा चोट नलागेपनि चोट गहिरो भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

डिएसपी न्यौपानेका अनुसार छुरा प्रहारमा संलग्न २ जना मंगलबार राती नै पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरु दुवै घाइते राईका साथी हुन् । पक्राउ पर्नेमा धरान १२ का १९ बर्षीय जैसन राई र निसान कटवाल छन् । आपसी विवाद भएपछि निसानले पकेटबाट छुरा निकालेर राईलाई प्रहार गरेको डिएसपी न्यौपानेले जानकारी दिए ।