धरान: प्रदेश सरकारले १ नं प्रदेशमा पर्यटनको विकास तथा प्रर्वद्धन गर्न एक अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

प्रदेश १ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री इन्द्र आङ्बोले प्रदेश पर्यटन बोर्डको स्थापना गरिने पनि जानकारी दिए । यस्तै, सगरमाथा आधार शिविरदेखि कंचनजंघा क्षेत्रसम्म हिमालयन पदमार्ग निर्माण प्रारम्भ गर्न आवश्यक बजेट विनियोजन गरिएको पनि बताए । चतरा क्षेत्रलाई कुम्भ क्षेत्र घोषणा गरी धार्मिक पर्यटकीय क्षेत्रकोरुपमा विकास गर्न पुर्वाधार निर्माण गरिनेछ । प्रदेशको विभिन्न धार्मिक सर्किट जोड्ने सर्किट विकास गरी धार्मिक पर्यटन सर्किट बनाउन आवश्यक बजेट विनियोजन गरिएको छ ।

भेडेटार–राजारानी–रबि–राँके –मंगलबारे हुदै सिद्धिथुम्कासम्मको क्षेत्रलाई महाभारत हरित कृषि पर्यटन क्षेत्रकोरुपमा विकास गर्न ३ करोड विनियोजन गरिएको छ । धरान–भेडेटार–नाम्जे, खुम्ब–चौरीखर्क–नाम्चेदुधकुण्ड र रमिते–मिक्लाजुङमा स्थानीयतह र निजी क्षेत्रसँगको साझेदारीमा केवलकार सञ्चालनको लागि विस्तृत सम्भाव्यता अध्ययन गरि निर्माण कार्य गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
अर्थमन्त्री आङ्बोले प्रदेशमा नियमितरुपमा एक बर्ष कार्यावधि पुरा गरेका र प्रदेशमा समायोजन भई एक बर्ष कार्यावधि पुरा गरेका कर्मचारीहरुलाई नेपाल भ्रमणका लागि ६ दिनको विदा र २५ हजार एकमुष्ठ दिइने पनि जानकारी दिए ।

सगरमाथा र मकालु राष्ट्रिय निकुञ्ज, कोशी टप्पुआरक्ष र कञ्चनजंघा संरक्षण क्षेत्रको जैविक विविधता संरक्षणमार्फत पर्यापर्याटन प्रर्वद्धन गर्न ६ करोड बजेट विनियोजन गरिएको छ । एक स्थानीय तह एक आकर्षक पर्यटकीय पुर्वाधार निर्माणको काम स्थानीय तहसँगको सहकार्यमा शुरु गर्न ७ करोड विनियोजन गरिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्यमा यलम्बर पार्कको निर्माण शुरु गर्न २ करोड २५ लाख र झापाको मेचीनगर नगरपालिकासँगको साझेदारीमा सीमा क्षेत्रमा पर्यटकीय पार्क निर्माण शुरु गर्न २ करोड बजेट विनियोजन गरिएको छ ।

हलेसी, बराहक्षेत्र, पाथीभरा, सिलौटी लब्रेकुटी र छिन्ताङलाई बिशेष धार्मिक, साँस्कृतिक र पर्यटकीय स्थलकोरुपमा विकास गर्ने तथा सोनबर्षी थान मोरङको संरक्षण र विकास गरिनेछ । धार्मिक, साँस्कृतिक र पुरात्तात्विक महत्वका स्थलहरुको संरक्षण, संर्वद्धन,जीर्णोद्धर र पुर्वाधार विकास गर्न ५ करोड विनियोजन गरिएको छ । जमुनखाडी, वेतना, बर्जु, कालीकोशी र बाघझोड गोठगाउँलागयत क्षेत्रलाई प्रदेशको आकर्षक पर्यटकीय गन्तव्यकोरुपमा निजी, सामुदायिक र स्थानीयसँगको साझेदारीमा विकास र प्रर्वद्धन गर्न पनि आवश्यक बजेट विनियोजन गरिएको छ । यस्तै, इटहरीस्थित तालतलैया क्षेत्रलाई प्रदेशकै एक प्रमुख आकर्षक पर्यटकीय गन्तव्य बनाउन सरकार, स्थानीयतह, निजी क्षेत्र र समुदायको साझेदारीमा अघि बढाउन पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

साल्पापोखरी र सिलिचुंग चुली रहेको क्षत्रेलाई प्राकृतिक र किरातहरुको धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरी मुन्धुम ट्रेल पदमार्ग निर्माण गर्न २ करोड विनियोजन गरिएको छ । सगरमाथा आरोही विश्वकिर्तिमानी कामरिता शेर्पा, अल्ट्रा धाविका मीरा राई र राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई बिशेष सम्मान गर्न बजेट विनियोजन गरिएको छ । यस्तै, साहसिक पर्यटनतर्फ प्याराग्लाइडिङ, र्याफ्टिङ, क्यानोनिङ, बन्जी जम्प, रक क्लाइबिङको सम्भाव्यता अध्ययनको लागि पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।