धरान: धरानमा पनि कफी खेतीको सम्भावना रहेको छ । धरानमा कफी खेतीको सम्भावना भएकोले नै आज धरान कफी तथा उद्यम केन्द्रले तालिम दिएको छ ।

आर्थिक उपार्जनको माध्यम कफी खेती हुनसक्ने भएर नै धरानका सय जना महिलाहरुलाई तालिम दिइएको आयोजकले जनाएको छ । धरान उपमहानगरपालिकाको वडा नं १५ को सहयोगमा केन्द्रले तालिम दिएको हो । केन्द्रले गार्डेन कफी खेती सम्बन्धि प्रशिक्षण धरान १५ निराजन बस्तीमा दिएको हो । केन्द्रकी निर्देशक अन्जना राईले पेट्रोलियम पदार्थ पछि धेरै खपत हुनेमा कफी नै भएको बताइन् । उनका अनुसार नेपालले हाल तीन अर्वको कफी आयात गरिरहेको छ । 'धरानको भुगोल र वातावरण कफी खेतीको लागि उपयुक्त भएको उनले बताइन् । मेरो नर्सरीमा डेढ लाखसम्म कफीको विरुवा तयार भएको छ,'उनले भनिन् ।

केन्द्रकी निर्देशक राईका अनुसार एकपटक रोपे पछि ५० बर्षसम्म बिरुवा रहने र कफीको बोट सदाबहार हरियाली हुन्छ । साथै, अत्याधिक मात्रामा अक्सिजन समेत फाल्ने भएकोले मानव स्वास्थ्यलाई पनि लाभदायक हुने उनले बताइन् । 'धरानलाई कफीबाट पनि पहिचान बनाउन र ग्रीन सिटीकोरुपमा विकास गर्न मद्दत पुग्छ,'उनले भनिन् । हाल विश्वमा चार प्रकारका कफी पाइन्छ । ती अरेबिया, सोबोस्टा, लाइबेरिया र एक्सेल्सा भएको उनले बताइन् । नेपालको हावापानीसँग अरेबिया जातको कफी उपयुक्त हुने र यसमा कफीमा पाइने हानिकारक तत्व क्याफिन पनि अत्यन्त कम मात्रामा पाईने उनले बताइन् ।

तालिम उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा नं १५ का अध्यक्ष नरेश इवारमले कफी खेतीलाई अघि बढाउन एक घर, एक कफीको अवधारणा अघि बढाउने बताए । कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर १३ का वडा अध्यक्ष नेत्रप्रसाद काफ्लेले इलाममा जस्तै आफ्नै पहिचानको विभिन्न उत्पादन धरानले पनि गर्नुपर्ने धारणा राखे । कार्यक्रममा करिब एक सय वटा कफीको बोट पनि सहभागीलाई बितरण गरिएको थियो ।

कफीलाई आज भन्दा पाँच हजार वर्ष अगाडि इथियोपियामा एक बाख्रा गोठालो पत्ता लगाएको बताइन्छ । काल्दी नाम गरेको गोठालोले बाख्रा चराउदा बाख्राले खाएर मोटाएको देखेपछि त्यसबारे अध्ययन अनुसन्धानपछि हालको पिउन लायकको अवस्थामा भएको हो ।