धरान: डेंगु ज्वरोले प्रकोपकोरुप लिएपछि एक साता भित्र शुन्यमा झार्ने लक्ष्य लिएर धरान उपमहानगरपालिकाले कार्ययोजना बनाएर लागि परेको शनिबार एक साता भयो ।

एक सातामा जनपथ प्रहरी, सशस्त्र, नगर प्रहरीसहितको टोली वडास्तर र टोलस्तरमा गठन भएको सर्च एण्ड डिष्ट्रोय अभियानमा लागेको थियो । कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदी आफै पनि विभिन्न वडा र टोलमा पुगेर बेला बेला अभियानको अनुगमन पनि गरिन् । लक्ष्य अनुसार डेंगुलाई शुन्यमा झार्न नसकिए पनि एक सातामा धेरै सुधार आएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातामा देखिएको पोजेटिम विरामीको तथ्यांक विगतमा एक दिनमै पोजेटिम देखिएको भन्दा कम छ । यसले विस्तारै डेंगुको प्रकोप कम हुदै गएको चिकित्सकहरु बताउँछन् ।

विपी प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहका अनुसार एक सातामा मात्र ६५ जना डेंगु पोजेटिभ विरामी भएको अस्पतालको रिपोर्ट छ । असार १ गतेदेखि ६ गतेसम्मको यो तथ्यांकले धरानमा डेंगुको प्रकोप घट्दो क्रममा रहेको देखिएको डा.साह बताउँछन् । ‘जेठमा त एकै दिन झण्डै १०० को हाराहारीमा विरामीहरु आएका थिए, अहिले ७ दिनमा ६५ जना मात्र पोजेटिभ आउनु भनेको धेरै नै कम हो,’डा.साहले भने,‘सबैको पहलले गर्दा ७ दिनमा १० गुणा कम भएको छ, अभैm शुन्यमा झार्न अभियानलाई नियमित गर्नुपर्छ ।’

dengu-tayar

प्रतिष्ठानको तथ्यांक अनुसार बैशाख ३१ गते विपी प्रतिष्ठानमा एक जना डेंगु पोजेटिभ विरामी देखिएका थिए भने जेठ महिनामा मात्र ६ सय ३१ जना पोजेटिभ थिए । ती सबै अहिले निको भइसकेका छन् । डेंगुको भाइरस सामान्यतया एक सातासम्म मानिसको शरीरमा रहन्छ । त्यसपछि अझै नष्ट हुने चिकित्सकहरु बताउँछन् । ‘डेंगु भयो भने विरामीलाई एक सातासम्म झुलभित्र अरु मच्छडले नटोकोस् भनेर राख्नुपर्छ, जसले गर्दा भाइरस अरु सामान्य मच्छडमा नसरोस्, र त्यसले अरु मानिसलाई पनि नसारोस्,’डा.साहले भने ।

धरानकी कार्यवाहक मेयर भण्डारीले प्रत्येक वडामा लार्भा नष्ट गर्ने अभियानलाई कडाईका साथ लागु गरिएकोले धेरै हदसम्म नियन्त्रणमा आएको बताइन् । ‘छतदेखि भुँईसम्म भन्ने नारा दिएर जमेको पानी फाल्ने र लार्भा नष्ट गर्ने अभियान चलाइरहेका छौं, यो अझै निरन्तर रहन्छ,’उनले भनिन्,‘प्रतिफल पनि देखिएको छ । तर, पानी पनि पर्न थालेकोले पोष्ट मनसुनको चिन्ता पनि छ ।’ पोष्ट मनसुनको लागि अहिलेदेखि नै सचेत भएर लागिपर्ने उनले बताइन् ।