धरान : धरानमा विद्यालयमा आधारित र समुदायमा आधारित बालविकास केन्द्र थुप्रै छन् । ती केन्द्रहरुमा ६८ जना शिक्षिकाहरु छन् । आइतबार तिनै शिक्षिकाहरु धरान उपमहानगरपालिकामा भेला भएका थिए ।

शिक्षिकाहरु माग पत्र लिएर उपमहानगर पुगेका थिए । अहिले शिक्षाको जिम्मेवारी पनि स्थानीय सरकारमा छ । त्यसैले उनीहरु आफ्नो सेवा सुविधा वृद्धिको मागपत्र बुझाउन उपमहानगरपालिकामा पुगेका हुन् । हाल उनीहरुको मासिक तलब मात्र ६ हजार छ । यो दिनको हिसाबले मात्र २ सय हो । बालबालिकाहरुलाई रेखदेख एवं स्याहार गर्न र पढाउन ज्यादै कठिन काम भएपनि आफुहरुले श्रम अनुसारको सेवा सुविधा नपाएको शिक्षिकाहरुको गुनासो छ । विद्यालयका सहयोगी कर्मचारीहरुको भन्दा पनि न्युन तलबमा काम गर्नुपरेको उनीहरुले बताए । विद्यालयका सहयोगीहरुले ७ हजार ५ सय बुझ्दै आएको शिक्षकहरु बताउँछन् । धरानमा बालविकासमा सबै महिला शिक्षकहरु छन् ।

शिक्षिका दुर्गा लिम्बूले आफुहरुमाथि श्रम शोषण भइरहेको बताइन् । बिहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म विद्यार्थीहरुलाई समय दिइरहे पनि सेवा सुविधा भने ज्यादै थोरै पाइरहेको उनले बताइन् । ‘दिनको २ सयको दरले पनि तलब छैन, यो त श्रम शोषण नै छ,’उनले भनिन्,'हाम्रो आवाज केन्द्र सरकारसम्मै पुर्याइदिनु पर्यो ।' बाल विकास शिक्षकहरुको समितिका संयोजक रेखा राईका अनुसार प्रावि दरबन्दी सरह तलब पाउनुपर्ने आफुहरुको एजेण्डा भएको बताइन् । ‘हामीले गरेको काम र जिम्मेवारीको हिसाबले यो माग गरेका हौं,’उनले भनिन्,‘बजेटको मुखमा भएकोले ध्यानाकर्षण गराएको हो ।’

यसअघि कार्यबाहक मेयर मञ्जु भण्डारी सुवेदीले आगामी आर्थिक बर्षमा ४ हजार थप गर्ने आश्वासन दिएकी थिइन् । अहिले उक्त आश्वासन पनि पुरा नहुने हो कि भन्ने शिक्षिकाहरुमा परेको छ । आश्वासन अनुसार पनि सेवा सुविधा नबढे थप छलफल हुने उनले बताइन् । कार्यबाहक मेयर भण्डारीले भने प्रदेश सरकारले पनि बजेट विनियोजन गरेकोले शिक्षिकाहरुको बिषयमा केही न केही सम्बोधन हुने बताइन् ।

bal