धरान: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा गृहनगर धरानको तस्बिर पुर्याउन सफल आरोही तथा पत्रकार देउराली चाम्लिङ सम्मानित भएकी छन् ।

उनलाई धरान उपमहानगरपालिकाले आइतबार पुर्ण खोप सुनिश्चित नगर घोषणा कार्यक्रममा नगद एक लाखसहित सम्मान गरिएको हो । कार्यक्रममा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले सगरमाथा आरोपी चाम्लिङलाई नगद १ लाखको चेक प्रदान गरेकी थिइन् । ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टिमको महत्वपुर्ण सदस्य रहेर उनले सगरमाथा आरोहण गरेकी थिइन् । सगरमाथाको सफल आरोहण गर्ने उनी धरानकी पहिलो व्यक्ति बनिन् ।

उनले सगरमाथा आरोहणको क्रममा धरानको भानुचोक र घण्टाघर देखिने तस्बिर लगेकी थिइन् ।सगरमाथाको चुचुरोमा पुगेपछि उनले उक्त तस्बिर देखाउदै फोटोसमेत खिचाएकी थिइन् । ‘धरान त मेरो लागि प्रिय ठाउँ हो, यहाँको तस्बिर पनि पुर्याए, फोटो खिचे,’केही समयअघि उनले कुराकानीको क्रममा भनेकी थिइन् ।

को हुन् देउराली ?

deuralee3

करिब दुई दशकअघि(२०५६ तिर) धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा काम गर्थिन् देउराली चाम्लिङ । त्यसबेला समाचारको खोजी गर्नु, अन्र्तवार्ता लिनु उनको दैनिकी थियो । केही बर्षपछि राजधानीतिर लागिन् । त्यहाँ उनी फ्रिलान्सर(स्वतन्त्र ) पत्रकारकोरुपमा रहिन् । गत बर्षको जेठ ९ गते अर्थात मे २३ मा देउराली पनि समावेश ‘प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८’ टिमले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको थियो ।

हिमाल चढ्न सजिलो छैन । त्यसमाथि विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्न अदम्य साहस र आँट चाहिन्छ । साहस भएर भएर मात्र पुग्दैन, खर्चको जोहो पनि ठुलै गर्नुपर्छ । ‘हिमाल चढ्दा सजिलो भनेको मर्न मात्र रहेछ, आरोहणको समयलाई अहिले सम्झदा पनि आङ सिरिङ्ग हुन्छ,’उनी भन्छिन्,‘म एक्लैले सम्भव थिएन, हाम्रो टिमको कारण आरोहण सफल भयो । अहिले बधाई, प्रसंसाहरु पाइरहेको छु, यसले खुशी दिइराखेको छ ।’

सानैदेखि सगरमाथा चढ्ने रहर

सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो नेपाली महिला हुन्, पासाङ ल्हमु शेर्पा । चुचुरोमा पुगेर फर्कदै गर्दा उनको निधन भएको थियो । नेपाली महिलाहरुको निम्ति पासाङ प्रेरणाकी स्रोत हुन् । साहस र हिम्मतकी प्रतिमुर्ति हुन् । पासाङले २०५० साल बैशाख १० मा सगरमाथाको चुचुरोमा पाइला टेकेकी थिइन् । पछिल्लो युवा पुस्ता उनै पासाङको वीरताको गाथा सुनेर हुर्किएका छन् ।

deuralee4

आँटिली देउरालीले पनि सानैदेखि सगरमाथा चढ्ने रहर बोकिन् । उनले सन् २००९ मा नै पृथ्वीको अग्लो ठाउँबाट संसार निकाल्ने प्रयास नगरेको भने होइन । तर, धेरै खर्च लाग्ने भएपछि आफ्नो रहरलाई एउटा कुनामा थन्काइन् । यो बीचमा उनले साहसिक खेलअन्र्तगत पर्ने बञ्जी जम्प, प्याराग्लाइडिङ, र्याफ्टिङ जस्ता सबै अनुभव बटुलिन् । तर, त्यसले चित्त कहाँ बुझ्थ्यो र, उनको लक्ष्य थियो त सगरमाथाको चुचुरोमा पाइला टेक्ने । सन् २००८ मा समावेशी महिला आरोहण टोलीको सफल आरोहणको खबरले उनलाई झनै छटपटि बढाएको थियो । ‘त्यसबेला म कसरी छुटे भनेर लागिरह्यो । २००९ मा सगरमाथा चढिसक्नुभएको इन्द्र वाहिङ राईलाई भेट्न गए, पसा धेरै लाग्ने भएपछि चुपचाप बसे,’उनले सम्झिइन्,‘पत्रकार महिला सगरमाथा चढ्ने कन्सेप्ट रोषा बस्नेतको हो, हामीले टिम बनायौं, र सफलता पनि पायौं ।’

पत्रकार बस्नेतले सन् २०१६ मा महिला पत्रकार सगरमाथा चढ्ने अवधारणा बनाइन् । शुरुमा संख्या १३ थियो । पछि आरोहण गर्ने बेलासम्म टिममा ५ जना मात्र भए । अरु २ जना व्यक्तिगतरुपमा नै चढे । पत्रकार महिला आरोहण टिममा देउराली, चाम्लिङ, रोषा बस्नेत, प्रियालक्ष्मी कार्की, कल्पना मर्हजन र रोजिता बुद्धाचार्य थिए । अहिलेसम्म सगरमाथाको सफल आरोहण गर्ने ३६ जना नेपाली महिलाहरु मात्र पुगेका छन् । ती मध्ये देउराली र उनको पत्रकार महिला टिम पनि पर्छन् ।

deuraleee4