धरान: धरानको खत्रीधारामा निर्माण गरिएको डिजल प्लान्टबाट शव दाह गर्न शुरु गरिएको छ ।

झिंगु समाजको अगुवाईमा निर्माण भएको प्लान्टबाट शव दाह गर्न शुरु गरिएको हो । धरान १४ मा पर्ने सेउती खोला किनारमा अवस्थित खत्री धारालाई झिगु समाजले आधुनिक शव दाहसँस्कारस्थल परिणत गरेको थियो । मृत्यू संस्कारमा सहयोग पु¥याउने उद्देश्यले स्थापित संस्था झिगु समाजले २०१७ साल देखि शव दाह गर्न शुरु गरेको हो । शव जलाउन धेरै समय लाग्ने, दाउरा महंगो, चिता बनाउन र जलाउन दक्ष जनशक्तिको आवश्यकता पर्नेलगायत समस्या कम गर्न डिजलबाट संचालित प्लान्ट स्थापना गरिएको झिंगु समाज धरानका अध्यक्ष सुरेन्द्रमान स्थापितले बताए ।

समाजले धेरै वर्ष अघिदेखि नै अटोमेटिक ईलेक्ट्रीबाट शव जलाउने प्लान्ट स्थापना गर्ने योजना बनाएको थियो । सूर्य मेटलका प्रोपराईटर उत्तम ताम्रकारले डिजलबाट शव जलाउने प्लान्टको परिकल्पना गरी निर्माण गरिदिए पछि सम्भव भएको हो । यस खालको प्लान्ट अन्यत्र कही पनि नभएको र नेपालमै पहिलो भएको उनको भनाई छ ।

khatri-dhara3

आज परिक्षण गर्दा आधा घण्टामा शव जेलेका थियो भने करिव ३० लिटर डिजल खपत भएको थियो । आफुले बनाएको प्लान्ट सफल हुंदा ताम्राकार पनि उत्साहित छन् । तथापी, केही परिमार्जन गर्नुपर्ने देखिएको उनले बताए । आइतबार धरान १२ का रामकुमार पन्तलाई स्थानिय छरछिमेकको सहयोगमा दाह संस्कार गर्न ल्याईएको थियो । उनैको शवलाई जलाएर त्यस प्लान्टको परिक्षण गरिएको थियो ।

शुरुमा प्लान्ट नयाँ भएकाले धेरै धुँवा आए पनि पछि कम हुने र पछि पछि शव जल्न पनि अझ कम समय लाग्ने उनले बताए । उक्त डिजल प्लान्टका लागि सुर्य मेटलले १० लाख बराबर सहयोग गरेको छ । प्लान्टको सुरक्षाको लागि टिनको छाना भएको सेड १ लाख ५० हजार लगातमा निर्माण गरिएको छ । यो सहयोग मितेरी डेभलपमेन्ट बैंक धरानले गरेको हो ।

khatri-dhara1

गुरुयोजना अनुसार नै विभिन्न संघसंसस्था तथा दाताहरुको सहयोगमा निर्माण भइरहेको निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्यले बताए । झिंगु सव दाह संस्कार स्थलमा शव ल्याएर राख्ने ठाँउ, नुहाउने धाराको व्यवस्था, कपडा फेर्ने कोठा, शौचालय, मलामीहरु वस्ने व्यवस्था समेत गरिएको छ । मान्छे जलाउने ठाउँ भएपनि विभिन्न सुविधा सम्पन्न र फुलबारी जस्तो सुन्दर बनाउने प्रयास गरिएको समाजका निवर्तमान अध्यक्ष नरेश शाक्यले बताए ।