मोरङ: प्रहरी सेवालाई प्रविधिमैत्री बनाएर समाजमा अपराधलाई न्युनिकरण तथा नियन्त्रण गर्ने उद्देश्यले मोरङको विभिन्न स्थानमा १ सय ५५ थान सिसिटिभि जडान गरिएको छ ।

१ नम्बर प्रदेश सरकारको सहयोगमा जिल्ला प्रहरी कार्यालय मोरङले कुल १ करोड १४ लाख बराबरको सिसिटिभि जडान गरेको जनाएको छ । सिसिटिभि जडानले अपराधको बस्तुनिष्ठ अनुसन्धान गर्न तथा शान्ति सुब्यबस्था कायम गर्न मद्दत पुग्ने प्रहरीको अपेक्षा छ । प्रदेश सरकारको सहयोगमा मोरङ जिल्लाको सिमा तथा राजमार्ग क्षेत्रमा डिजिटल प्रणालीमा आधारित सिसिटिभीको निगरानी भएको प्रहरीले जनाएको छ ।

उक्त सिसिटिभिको आज सोमबार जिल्ला प्रहरी कार्यालय मोरङ परिसरमा एक कार्यक्रमको बीचमा मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन् । प्रमुख अतिथि एवं मुख्यमन्त्री राईले समाजमा हुने सबै प्रकारका अपराधहरुमा सिसिटिभिको निगरानी र नियन्त्रणले उल्येख्य मात्रामा सफलता हासिल हुने अपेक्षा व्यक्त गरे । साथै, उनले प्रदेश भरि नै सुशासन कायम हुने पनि बिश्वास ब्यक्त गरे । उनले जनतालाई शान्ति र सुरक्षाको प्रत्याभुती दिलाउनु नै आजको प्रमुख आवश्यकता भएको पनि धारणा व्यक्त गरे । साथै, प्रत्येक सुरक्षा निकायहरुलाई बिभिन्न कार्यक्रमहरुको माध्यमबाट जनतासँग प्रत्यक्ष रुपमा जोडिदै लगिएको समेत बताए ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले २१ औ शताब्दीमा सुरक्षा प्रणालीलाई प्रबिधी मैत्री बनाउन आवश्यक भएको बताए । उनले अपराध अनुसन्धान, नियन्त्रण र रोकथामका लागी सिसिटिभि अपरीहार्य रहेको पनि बताए । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले अपराधरहित समाजको निर्माणका लागि प्रहरी र समाजको सम्बन्ध नङ र मासुको जस्तै स्थापित हुनु पर्ने बताए । उनले आगामी दिनहरुमा सिसिटिभि जडान कार्यले प्रहरीलाई सहज रुपमा काम गर्ने बाताबरण बन्ने पनि विश्वास ब्यक्त गरे ।

IMG_5807