इटहरी: सुनसरी बराहक्षेत्रकी सुलोचनादेवी चन्द्रवंशीको १६ बर्षको कलिलो उमेरमै विवाह भयो । प्रकाशपुरमा बसोबास गर्दै आएकी उनले जितिया पर्वको सन्ध्याकालिनमा ब्रत बस्न थालेको १७ बर्ष पूरा भएको छ ।

‘छोराछोरीको खुशीका लागि ब्रत बस्दै आएको हुँ,’ आइतबार बराहक्षेत्र ९ कालीमन्दिर प्राङ्गणमा आयोजित जितिया पर्वमा भेटिएकी उनले भनिन्,‘छोराछोरीको सुख शान्ति भयो भने आफ्नो पनि मनमा शान्ति हुन्छ ।’ दुई छोरा र दुई छोरी रहेको बताउँदै उनले २४ बर्षीया जेठी छोरीको १४÷१५ बर्षमै विवाह भएको बताईन् ।
त्यस्तै १९ बर्षीया कान्छी छोरीको पनि तीन बर्ष अगाडि विवाह भएको बताउँदै २२ बर्षीय छोराको केही बर्ष अगाडि विवाह भएको र १६ बर्षीय कान्छा छोरा कक्षा ९ मा अध्ययन गर्दै गरेको उनको भनाई थियो । कान्छा छोराको विवाह नगर्ने भन्ने प्रश्नमा सुलोचनाले भनिन्, ‘अब नियम लागू भईसक्यो, नियम अनुसार चल्नुपर्छ ।’

कानुनमा २० बर्ष नभई विवाह गरे कानुनी कारबाही हुने उल्लेख गरेको छ । सोही कारणले आँफूहरु बालविवाहबिरुद्धको अभियानका निम्ति ब्रत बसेको उनको तर्क रहेको थियो । ‘त्यतिखेर नियम लागू थिएन, अब नियम लागू भयो, नियम अनुसार चल्नुपर्छ,’ उनले भनिन् । त्यस्तै, २५ बर्षीया राधा चन्द्रवंशीको १८ बर्षको उमेरमै विवाह भयो । ‘म कक्षा ७ मा पढ्दा नै विवाह भयो,’ उनले भनिन्, ‘विहे पछि ब्रत बस्न थालेको हुँ ।’ उनले छोराछोरीको खुशीका लागि ब्रत बसेको बताईन् । तीन बर्षको छोरा र डेढ बर्षको छोरी रहेको बताउँदै भनिन्, ‘हाम्रो पालामा जनचेतना थिएन, सानैमा विहे हुन्थ्यो, अब हाम्रो छोराछोरीलाई त्यसो नहोस् भनेर ब्रत बसेको हुँ ।’ उनले वालविवाह रोकथाम हुनुपर्ने भन्दै ब्रत बसेको समेत बताईन् ।

बराहक्षेत्रकै ३० बर्षीया बन्दना कविरथले पनि आफ्नो सानै उमेरमा विवाह भएको स्मरण गर्दै भनिन्, ‘एउटा १२ र अर्को ६ बर्षको छोरा रहेको छ, उनीहरुको सानै उमेरमा विवाह नहोस् भन्नका लागि र उनीहरुको खुशीको लागि ब्रत बसेकी हुँ ।’ उनले आगामी पुस्तामा वालविवाह गराउन नहुने र सचेतनाका लागि पनि आँफूहरु ब्रत बसेको बताईन् ।

चन्द्रवंशी तथा कविरथ युवा समूहका संयोजक रामकुमार चन्द्रबंशीले भने मधेशी मुलका महिलाहरुले मनाउने पर्व जितिया रहेको र यहाँ रहेको उराउ समूदाय, चन्द्रवंशी, थारु र कविरथ समूदायका महिलाहरु भेला भएर ब्रत लिई आफ्नै भाषा, शैली र रीतिमा नाचगान गर्ने बताए । ‘अहिले पनि यहाँ वालविवाहको समस्या त छ नै,’ उनले भने, ‘तर पहिलाको तुलनामा धेरै वालविवाह रोकिएको छ ।’ उनका अनुसार यहाँका मानिसहरु कृषि पेशामा आत्मनिर्भर रहेको भएपनि धेरैजसो युवाहरु बिदेशिएका छन् ।

स्थानीय मेघराज कविरथले आफूँहरुको बाउ, बाजेको पुख्र्यौली पेशा थाहा नभएको बताउँदै अहिले अधिकांश मानिसहरु खेती किसानी गर्ने र मजदुरी गर्ने बताए । उनले भने, ‘पहिला सानै उमेरमा विवाह हुन्थ्यो, अहिले त्यो कम भएको छ, तर केटाकेटी मन मिलेर सानै उमेरमा पनि विवाह गर्ने चलन रहेको छ ।’ उनका अनुसार २० बर्ष भन्दा कम उमेर समूहका मानिसहरुमा मागी विवाह नहुने बताउँदै भागी विवाह भने केही हदसम्म रहेको छ ।

बराहक्षेत्र ९ मा भएको जितिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्की प्रमुख अतिथि रहेका थिए । उनले यहाँ रहेका थारु समूदायको समस्यामा हातेमालो गर्न आँफू तयार रहेको बताए । कार्यक्रम पुजा चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सुनसरीको बराहक्षेत्रमा मात्र चन्द्रवंशी समूदायका २ हजार ५ सय, उराउमा ३ देखि ४ सय, थारु ७ देखि ८ सय र कविरथ समूदायका १२ सय घरपरिवार रहेको बताईएको छ ।