संखुवासभा: संखुवासभाको धर्मदेवी नगरपालिका ८ स्थित अक्कर भिरबाट बोलेरोसँगै अरुण खसेर वेपत्ता भएका ६ जनामध्ये एकको शव फेला परेको छ ।

गत भदौ ३१ गते राती करिब पौने ११ बजे खाँदबारीबाट धरानतर्फ आउदै गरेको को १ ज ३७४९ नम्बरको बोलेरो गाडी अक्कर भिरबाट अरुण नदीमा खस्दा ६ जना वेपत्ता भएका थिए । ती वेपत्ता मध्ये एक जनाको मृत शव भेटिएको प्रहरीले जनाएको छ । आज बिहान धनकुटाको महालक्ष्मी नगरपालिका ४ दमारस्थित अरुण नदीको किनारमा स्थानीयबासीले महिलाको शव फेला पारेका थिए ।

शव फेला परेको बारेमा स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । शव भेटिएको खबर पाएपछि तत्काल प्रहरी चौकी चानुवा धनकुटाबाट प्रहरीको टोली त्यसतर्फ गएको थियो । प्रहरीले शवको हुलीया लिएर आफन्तलाई जानकारी गराएको थियो । घटनास्थलमा आएका आफन्तले शवको पहिचान गरेका थिए ।

मृत महिला खाँदबारी नगरपालिका ९ ढुङगेधाराकी २३ बर्षीय सदिछा श्रेष्ठ भएको पहिचान गरिएको थियो । त्यसपछि, घट्नास्थल मुचुल्काको लागी जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटिएको थियो । गएको भदौ ३१ गते बिरामी बोकेर उपचारको लागि धरानतर्फ जादै गरेको बोलेर भिरबाट खसेर अरूण नदीमा डुब्दा सवार ६ जना बेपत्ता भएका थिए ।